काठमाडौँ, असोज १८ गते । नवयुवा (जेनजी) ले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छाडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ । सरकार बनेको छ महिनाको अवधिमा सरकारले सयबुँदे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ ।
यस अवधिमा सरकारले अधिक भाषण र उधारो घोषणाभन्दा परिणाम दिने गरी काम गरिरहेको बताउनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियार । उहाँका अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर छ । “सरकारका उपलब्धि कति पटक चर्का भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने आधारमा मापन हुनु पर्छ भनेर हामी बेजोड मेहनत गरिरहेका छौँ,” गोरखापत्रसँगको कुराकानीमा सचेतक परियारले भन्नुभयो, “सरकारले के ग¥यो भन्ने कुरा प्रचारबाट होइन, कामको परिणाम, तथ्याङ्क र नागरिकको अनुभवबाट देखिने अवस्था निर्माण गर्नु नै हाम्रो मूल ध्येय छ ।”
खास गरी कुनैबेला भाषणको युग भए पनि अहिले नागरिकले भाषणभन्दा रासन पहिले खोजेको उहाँको तर्क छ । उधारो प्रतिबद्धताभन्दा कार्यान्वयन र परिणामतर्फ सरकार अग्रसर भएको उहाँले बताउनुभयो ।
जवाफदेहितालाई केन्द्र बनाएर समयसीमा, लक्ष्य र जिम्मेवारी निर्धारण गर्दै मूल्याङ्कन प्रणालीमा जान आवश्यक रहेको परियारले बताउनुभयो । सामाजिक, राजनीतिक, प्रशासनिक संस्कृति विकास गर्दै अगाडि बढ्ने सरकारको ध्येय रहेको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो, “सरकार फेर्न सजिलो छ, संस्कार फेर्न गाह्रो, हामी त्यही गाह्रो काम फत्ते गर्दै छौँ ।”
राजनीतिक विश्लेषक डा. चन्द्र उपाध्यायले विगतमा लोकतन्त्र र प्रजातन्त्रलाई संस्थागत गर्न नसकिएकै कारण समाजमा असन्तुष्टि बढेको बताउनुभयो । राजनीतिक दलले समाजलाई सही ढङ्गले सामाजिकीकरण गर्न नसक्दा समस्या आएको उहाँको भनाइ छ । “विगतमा विभाजित भएर मुलुक चलाउने र स्वार्थ अनुकूल सम्झौता गर्ने काम घातक भयो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अब राजनीतिक स्थायित्वसँगै जनताले विश्वास गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ । “३५ वर्षमा केही भएन भन्ने होइन, जति हुनुपर्ने त्यति नभएको हो तर बहुदलीय व्यवस्था संवैधानिक राजतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा हामीले अपनाएको व्यवस्थाको अभ्यास कमजोर भयो,” उहाँले भन्नुभयो, “अब संविधानले प्रत्याभूत गरेको अधिकारको प्रत्याभूतिका निम्ति न्यायोचित वितरण गर्नु पर्छ ।” युवा राजनीतिज्ञ रोशन भुजेलले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत तहमा व्यापक सुधारको आशा रहेको बताउनुभयो । “अहिलेको सरकार महìवाकाङ्क्षी भाषणभन्दा यथार्थमा रहेर काम गरिरहेको महसुस भएको छ,” उहाँले भन्नुभयो, “सरकारबाट युवामा धेरै आशा छ । आशा अनु्रूपको काम हुन जरुरी छ ।”
उहाँले राज्यका सबै संयन्त्र खटाएर विकास निर्माणसँगै आममानिसको आर्थिकस्तर उकास्ने किसिमका काम गर्नुपर्ने सुझाउनुभयो । “सरकार अलमलिनु हुँदैन, द्रुत गतिमा काम गर्नु पर्छ,” उहाँले भन्नुभयो, “विकासको क्रम बिस्तारै हुँदै जाने हो । यद्यपि युवाले नेपाललाई तत्कालै विकसित देशसँग दाँजेर हेर्ने भएका कारण सरकारबाट धेरै अपेक्षा हुनु अस्वाभाविक होइन ।” चार दशकको राजनीतिक यात्राले नागरिकलाई अधिकारबारे सचेत बनाइसकेको छ । अब उनीहरूलाई राज्यले अपूरा भाषणले नभई काम गर्ने तरिकामा ल्याउने परिवर्तनले विश्वास दिलाउनुपर्ने समय आएको जानकार बताउँछन् ।
२०४६ सालपछि नेपालमा राजनीतिक चेतनाको विस्तार भयो । व्यवस्था बदलियो, सरकार बदलिए, राजनीतिक दल र नेतृत्व फेरिए । नागरिकका अधिकार र स्वतन्त्रताको दायरा पनि फराकिलो बन्दै गयो तर राजनीतिक परिवर्तनसँगै नागरिकका मुद्दा अपेक्षाकृत सम्बोधन हुन नसक्दा जनआक्रोश र असन्तुष्टि बढ्यो ।
खास गरी सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिल्ला जिल्लामा पुगे, उद्घाटन, शिलान्यास र भाषणमा केन्द्रित हुँदै नागरिकलाई विकासका प्रतिबद्धता सुनाए । राज्यको ठुलो स्रोत यस्ता कार्यक्रम, भ्रमण र प्रशासनिक प्रक्रियामा खर्च भइरह्यो तर नागरिकले खोजेको रोजगारी, उत्पादन, पूर्वाधार र सार्वजनिक सेवाको गुणस्तरमा अपेक्षित परिवर्तन नदेखिएको गुनासो बढ्यो । जस कारण २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले मुलुक नयाँ युगमा प्रवेश गरेको हो ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया