असोज १९, २०८३ सोमबार October 5, 2026

वैकल्पिक मार्ग निर्माणको योजना

तीन अर्ब रुपियाँभन्दा कम लागतमा सो वैकल्पिक मार्ग निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १९ गते । सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न र बारम्बार हुने सडक अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशूली नदीपारि वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ । यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढाएको हो ।

पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसपछिको अविरल वर्षाका कारण आएको बाढीले त्रिशूली नदीको कटान र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड क्षतविक्षत भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको निर्माण फेरि चर्चामा आएको हो । पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सडक अवरुद्ध हुने जोखिम बढ्दै गएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगमा पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुनजङ्ग थापाले बाढी, पहिरो जस्ता प्राकृतिक विपत्का बेला पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वीराजमार्ग अवरुद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशूली नदीपारि वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन सुरु गरिएको छ । यसको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिइएको छ । सोसाइटीले अबको तीन महिनापछि सरकारलाई प्रतिवेदन बुझाउने छ । सो प्रतिवेदनका आधारमा निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”

पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशूलीपारितर्फ वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

थापाले भन्नुभयो, “सरकारले त्रिशूलीपारि विशेष गरी धादिङको गल्छी, मलेखु हुँदै चितवनतर्फ जोड्ने क्षेत्रमा वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि सारेको हो । यसले मुख्य राजमार्गको सवारी चापलाई कम गर्नुका साथै पहिरो वा अन्य विपत्का बेला सङ्घीय राजधानी काठमाडौँलाई मुलुकको बाँकी हिस्सासँग सधैँ जोडिराख्न जीवनरेखाका रूपमा काम गर्ने छ ।” पारितर्फको मार्गमा अहिले स्थानीय तथा प्रदेश सरकारले थुप्रै ग्रामीण सडक ट्र्याक खोलिसकेकाले अब पहिले जस्तो जग्गा प्राप्तिको झन्झट र खर्च नहुने उहाँले बताउनुभयो । यो वैकल्पिक मार्ग धार्केबाट सुरु भई गल्छी, परेवाटार, आरुवासटार, बेनीदोभान हुँदै गोरखाको घ्याल्चोक (गण्डकी गाउँपालिका) र मुग्लिन पार गर्दै पूर्वी नवलपुरको गैँडाकोटसम्म विस्तार गर्ने गरी खाका बनाइएको उहाँले जानकारी दिनुभयो ।

यो वैकल्पिक मार्ग निर्माण भइसकेपछि विद्यमान पृथ्वी राजमार्गको विस्तार गरिरहनु नपर्ने र मुग्लिन–काठमाडौँ खण्डको ट्राफिक चाप उल्लेख्य रूपमा घट्ने बताउँदै थापाले भन्नुभयो, “धादिङका स्थानीय निकायहरूले गल्छीदेखि मलेखु खण्डसम्म कतिपय ठाउँमा ट्र्याक खोलेर सञ्चालनमा समेत ल्याइसकेका छन्, जसलाई आगामी दिनमा दुई लेनको सडकका रूपमा विस्तार गरी कालोपत्रे गर्ने योजना छ ।” पृथ्वी राजमार्गको कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेकाले त्रिशूलीपारिको मार्गलाई विकल्पका रूपमा अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । यो वैकल्पिक मार्ग निर्माण भई सञ्चालनमा आइसकेपछि एकातिर स्थानीयवासी लाभान्वित हुने छन् भने अर्कातिर पृथ्वी राजमार्ग भएर गुड्ने सवारीसाधन पारिबाट समेत आवतजावत गर्न सक्ने छन् । ठाउँ ठाउँमा पुल रहेका र कतिपय बन्ने क्रममा रहेकाले त्रिशूली वारिपारि गर्न कुनै समस्या नहुने थापाले बताउनुभयो । पृथ्वी राजमार्गमा दैनिक झन्डै २० हजार सवारीसाधन आवतजावत गर्ने गरेकामा यो वैकल्पिक मार्ग सञ्चालनमा आएपछि त्यो चाप कम हुने विश्वास गरिएको छ । यो वैकल्पिक मार्ग निर्माण नगरिए आगामी दिनमा पृथ्वी राजमार्गमा यातायात व्यवस्थापन झनै जटिल र जोखिमपूर्ण हुने उहाँको भनाइ छ ।

सीतापाइला–धार्के खण्डको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा पुगेको अहिलेको अवस्थामा अब धार्केदेखि त्रिशूली नदी पार गर्दै पूर्व–पश्चिम  जोडिने सो वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

पच्चिस वर्षअघि पनि अध्ययन 

थापाका अनुसार पृथ्वी राजमार्गको विकल्पमा त्रिशूलीपारि वैकल्पिक मार्ग निर्माण गर्नेबारे २५ वर्षअघि विश्व बैङ्कको सहयोगमा सडक विभागले अध्ययन गरेको थियो । उक्त अध्ययनले त्रिशूलीको अर्को किनार (पारिपट्टि) बाट वैकल्पिक मार्ग निर्माण गर्न प्राविधिक रूपमा सम्भव देखाएको थियो ।

अध्ययन अनुसार करिब ६० किलोमिटर सडक निर्माण गर्ने हो भने गल्छीदेखि मुग्लिन छिचोलिन्छ । यो ६० किलोमिटरमध्ये ५० किलोमिटर जति स्थानीयस्तरमै कच्ची सडक निर्माण भइसकेको छ । यसलाई स्तारोन्नति गरे पुग्छ । मुआब्जा दिइरहनु पर्दैन । बाँकी १० किलोमिटर पनि सरकारी बुट्यान क्षेत्र पर्छ । यो क्षेत्रमा समेत जग्गाको मुआब्जा दिनु पर्दैन ।

सो अध्ययनबारे जानकारी दिँदै थापाले भन्नुभयो, “उक्त अध्ययनले पृथ्वी राजमार्गको अवरोध छल्न त्रिशूलीपारि वैकल्पिक मार्ग निर्माण आवश्यक रहेको देखाएको थियो । त्यसै गरी सो वैकल्पिक मार्ग निर्माणको लागत त्यस बेला तीन अर्ब रुपियाँ देखाएको थियो ।” त्रिशूलीपारि गल्छीदेखि मलेखु खण्डसम्म कतिपय ठाउँमा ट्र्याक खोलेर सञ्चालनमा समेत आइसकेकाले अहिले तीन अर्ब रुपियाँभन्दा कम लागतमा सो वैकल्पिक मार्ग निर्माण हुने उहाँले बताउनुभयो ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया