काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका प्रत्याशी किशोरसिंह राठौरले अर्का प्रत्याशी गगनकुमार थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।
राठौरले थापालाई कांग्रेसका नेता तथा कार्यकर्ताले भरोसा र आशा गरेको नेतृत्वका रूपमा उल्लेख गर्दै मुलुक रूपान्तरणको जिम्मेवारी पूरा गर्ने अवसर प्रदान गर्न उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउनुभएको हो ।
उहाँले कांग्रेसलाई आन्तरिक प्रतिस्पर्धा र गुटगत विभाजनमा सीमित नराखी एकअर्कालाई स्वीकार गर्ने, सबैलाई समेट्ने र एकताबद्ध पार्टीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो । पार्टी एकता र आगामी राजनीतिक यात्रालाई केन्द्रमा राखेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको राठौरले स्पष्ट पार्नुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया