काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। बुधबार साँझ ५ बजे बस्ने तय भएको बैठक सूचना टाँसेर स्थगित भएको हो।
बिहीबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिइन्। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने गरी बुधबार बैठक बोलाइएको थियो।
तोकिएको समयमा बैठक सुरु नभएपछि प्रमुख प्रतिपक्षले बहिष्कार गरेको थियो। त्यस्तै, आजै सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको थियो।
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षीका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आदेश दिएको हो।
अदालतले विपक्षीका नाममा बाटोको म्यादबाहेक १५ दिनभित्र मुख्य न्यायाधिवक्ताको कार्यालय, सुदूरपश्चिम प्रदेशमार्फत लिखित जवाफ पेश गर्न भनेको छ। यस्तै, निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिएको भन्दै अदालतले असोज २३ गते पेशी तोकी विपक्षीहरूलाई विद्युतीय माध्यमबाट तत्काल म्याद तामेल गरी पेश गर्न आदेश दिएको छ।
अधिवक्ता उपाध्यायले सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो बजेट पारित वा अस्वीकृत नभई पुनः अर्कोे बजेट ल्याउन लागेको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतको आदेशसँगै अन्योलमा परेको प्रदेश सरकार कानुनी परामर्शमा छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया