असोज २२, २०८३ बिहिबार October 8, 2026

डिएनए लिइयो, सनाखत भएन

डिएनए परीक्षणमा नेपालसहित भारतबाट १९, चीनबाट १५ र दक्षिण कोरियाबाट तीनजना डिएनए विज्ञ कार्यक्षेत्रमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : भोटेकोशी बाढीमा फेलापरेका शव तथा मानव अवशेषको पहिचानका लागि ठुलो संख्यामा डिएनए परीक्षण भइरहेको छ । तर, सनाखतको गति भने सुस्त छ ।
सरकारी विवरणअनुसार रसुवा–भोटेकोशी बाढीमा पाँच हजार २८५ जना बेपत्ता छन् । प्रभावित क्षेत्रबाट एक हजार ४५४ शव तथा मानव अवशेष फेलापरेका छन् । तीमध्ये ११२ जनाको मात्र सनाखत भएको छ ।

फेला परेका शव तथा मानव अवशेषमध्ये ५८५ पुरुष, ३३६ महिला र ५३३ वटा पहिचान नखुलेका आंशिक मानव अंग छन् । लामो समय पानी, हिलो र भग्नावशेषमा रहेका कारण कतिपय शव क्षतविक्षत अवस्थामा छन् । अनुहार, कपडा वा शरीरमा रहेका चिह्नबाट पहिचान गर्न कठिन भएपछि हड्डी र दाँतबाट डिएनए निकालेर परीक्षण भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

डिएनए लिइयो, सनाखत भएनहाल तीन हजार २०० फरेन्सिक नमुना डिएनए परीक्षणको प्रक्रियामा छन् । नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुनाको प्रोफाइलिङ भइरहेको छ । तर, नमुना परीक्षण हुनु र शवको सनाखत हुनु फरक प्रक्रिया हो । शव वा मानव अवशेषबाट डिएनए प्रोफाइल तयार भएपछि त्यसलाई बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिएको नमुनासँग मिलाउनुपर्छ । दुवै प्रोफाइल मिलेपछि मात्र शवको सनाखत पुष्टि हुन्छ । बाढीमा बेपत्ता भएकाका आफन्तको ठुलो संख्यामा डिएनए नमुना संकलन गरिएको छ । २९ देशमा रहेका ३६६ जना आफन्तले समेत डिएनए प्रोफाइल पठाएका छन् ।

प्रहरीले अब प्रोफाइलिङ सकेर म्याचिङको काम अघि बढाउने जनाएको छ । प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले प्रोफाइलिङ सकिएपछि म्याचिङ गरेर शव बुझाउने बताए । ‘डिएनए प्रोफाइलिङको काम धमाधम भइरहेको छ । प्रोफाइलिङ सकिएपछि म्याचिङ गरेर शव बुझाउँछौं,’ उनले भने । उनका अनुसार, कानुनी प्रक्रिया पूरा गरेर सकेसम्म चाँडो शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

सफ्टवेयरबाट हुँदैछ म्याचिङ

डिएनए परीक्षणमा नेपालसहित पाँच देशका प्राविधिक टोली संलग्न छन् । भारतबाट १९, चीनबाट १५ र दक्षिण कोरियाबाट तीनजना डिएनए विज्ञ कार्यक्षेत्रमा खटिएका छन् । अमेरिकाबाट तीन र सिंगापुरबाट दुईजना फिंगरप्रिन्ट विज्ञ पनि परिचालित छन् ।

भारतीय र कोरियाली डिएनए विशेषज्ञले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको टोलीसँग मिलेर परीक्षण गरिरहेका छन् । दुवै प्रयोगशालामा गरिएको परीक्षणबाट अहिलेसम्म एक हजार ४०० भन्दा बढी डिएनएको रिपोर्ट आइसकेको छ ।

प्रोफाइलिङपछि म्याचिङको काम ‘कोडिस’ सफ्टवेयरबाट गरिनेछ । चिकित्सकको टोलीले पोस्टमार्टमपछि शव प्याकिङ गरेर डिएनए नमुना निकाल्न प्रहरीलाई दिनेछ । प्रहरीले हड्डी, दाँतलगायत अंगबाट नमुना निकालेर रसायन प्रयोग गरी प्रोफाइल तयार गर्नेछ ।

मृतकका परिवारका सदस्यको डिएनए प्रोफाइल पनि कोडिस सफ्टवेयरमा राखिनेछ । सफ्टवेयरले शवबाट निकालिएको डिएनए र परिवारका सदस्यको डिएनए मिलाएपछि त्यसैका आधारमा सनाखत गरिने प्रहरीको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयले कात्तिक पहिलो साताभित्र जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएका शवमध्ये पहिचान खुलेका शव आफन्तलाई बुझाउने तयारी गरेको छ । हालसम्म फेलापरेका शव तथा मानव अवशेषमध्ये एक हजार २९२ वटालाई जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । पहिचान खुलेका र अन्य प्रक्रिया पूरा भएका ११२ शव भने परिवारलाई हस्तान्तरण भइसकेका छन् । मध्यान्ह दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी
२०८३ असोज २२, बिहिबार
बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने
२०८३ असोज २२, बिहिबार
नयाँ पार्टी गठनको गृहकार्यमा देउवा समूह, विमलेन्द्र निधिले खोले रहस्य
२०८३ असोज २२, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
२०८३ असोज २२, बिहिबार
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार