वासिङ्टन, ३१ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको सहयोग साउदी अरेबियाले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उहाँले साउदी अरेबिया इजरायलसँग सम्बन्ध सामान्य बनाउने अब्राहम सम्झौतामा सहभागी हुने सम्भावना पनि बढेको उल्लेख गर्नुभयो ।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण हुनुअघि इजरायल र साउदी अरेबिया सम्बन्ध सामान्य बनाउने सम्झौताको नजिक पुगेका थिए । तर साउदी अरेबियाले प्यालेस्टिनी राज्य स्थापनाको स्पष्ट मार्ग सुनिश्चित हुनुपर्ने अडान राख्दै आएको छ ।
यसैबीच, इरानले हुथीका आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै द्वन्द्व अन्त्य गर्न मध्यस्थता गर्न तयार रहेको जनाएको छ ।
यमनको सरकारले हुथीले एडन विमानस्थलमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । ती क्षेप्यास्त्र कायरो उड्न तयारी अवस्थामा रहेको विमाननजिक खसेका थिए । साउदी अरेबियास्थित अमेरिकी दूतावासले पनि सम्भावित आक्रमण र उडान अवरोधबारे आफ्ना नागरिकलाई सचेत गराएको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले पछिल्लो २४ घण्टामा साउदी लडाकू विमानले यमनका विभिन्न क्षेत्रमा १०१ वटा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको र हालसम्म यस्ता आक्रमणको सङ्ख्या दुई हजार ४८९ पुगेको दाबी गर्नुभएको छ । अर्कोतर्फ, साउदी नेतृत्वको सैन्य गठबन्धनले यानबुतर्फ प्रहार गरिएको एक ब्यालिस्टिक क्षेप्यास्त्र, लाल सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र र तीनवटा ड्रोन नष्ट गरेको जनाएको छ ।
हुथीका आक्रमण र त्यसको जवाफी कारबाही बढिरहेका बेला साउदी अरेबियाको ऊर्जा पूर्वाधार तथा महत्त्वपूर्ण समुद्री मार्गको सुरक्षालाई लिएर चिन्ता बढेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया