काठमाडौँ, कात्तिक १ गते । “नवरात्रमा मनमा पाप नराखी शुद्ध मनले देवीको पूजा गर्दा जे चितायो त्यही पुग्छ । दसैँमा जमरा राखेको दिनदेखि एकादशीको दिनसम्म अन्न, नुन नखाई व्रत बस्ने गरेको छु,” फूलपातीको अघिल्लो दिन गुह्येश्वरी मन्दिरको दर्शन गर्न लाइनमा बस्नुभएकी काठमाडौँ गोकर्ण आरुबारीकी निर्मला पण्डितले भन्नुभयो, “फलफूल, दुध र पानी मात्र खाएर शुद्ध मनले देवीको पूजा गरेमा ढिलोचाँडो आफूले मागेको पुग्छ भन्ने मलाई विश्वास छ ।”
उहाँले हातमा पूजाको थाली, धुप, बत्ती र फलफूल बोक्नुभएको थियो । हरेक वर्ष दसैँ उहाँका लागि पर्व मात्र नभई भगवतीको उपासना गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । विगत १५ वर्षदेखि लगातार दसैँमा अन्न नखाई व्रत बस्दै आउनुभएकी उहाँले यसपालि गुह्येश्वरी, महाँकाल, सङ्कटा, स्वयम्भू, विजेश्वरी, भाटभटेनी, मैतीदेवीलगायतका मन्दिरमा पूजाअर्चना गरिसकेको बताउनुभयो ।
कौशल्या सत्याल र कला थपलिया स्वयम्भूबाट बिहानै दक्षिणकाली मन्दिरमा दर्शन गरेर गुह्येश्वरी मन्दिर पुग्नुभएको थियो । दसैँ बिदा सुरु भएकाले काठमाडौँमा रहेका अधिकांश देवीका मन्दिरमा दर्शन गर्न जाने सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक दसैँमा दक्षिणकाली, शोभा भगवती, गुह्येश्वरी, विजेश्वरी, रक्तकाली, मैतीदेवी, भद्रकालीलगायतका शक्तिपीठमा दर्शन गर्न जाने गरेका छौँ । अष्टमीका दिन जमरा लिएर शोभा भगवती, चुनदेवी, इन्द्रायणी मन्दिरमा पूजा गर्न जाने गरेका छौँ ।” नवरात्रिमा लसुन प्याज, माछामासु नखाइकन व्रत बस्ने गरिएको थपलियाले बताउनुभयो । सतीदेवीको गुह्य पतन भएर उत्पन्न भएको शक्तिपीठ मानिएको तथा पशुपतिनाथ मन्दिरछेउ रहेको गुह्येश्वरीमा दसैँका बेला भक्तजनको घुइँचो लाग्ने गरेको पुजारी सागर कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार यहाँ तान्त्रिक विधिबाट पूजा गर्ने गरिन्छ । कर्माचार्यले भन्नुभयो, “दसैँका बेला अष्टमीका दिन कालरात्रि पूजा हुन्छ । त्यसका लागि चार राँगा, छ बोका र आठ वटा हाँसको बलि दिएर पूजा गरिन्छ । बलि दिन पशुको व्यवस्था गुठी संस्थानबाट हुने गरेको छ ।”
श्रीमतीसहित मैतीदेवीमा दर्शन गर्न पुग्नुभएका गोरखाका विष्णुहरि अधिकारीले झन्डै आधा घण्टा ध्यान गर्नुभयो । हाल शाकाहारी बन्नुभएका उहाँले माछा, मासु र मदिरा त्याग्नाले शरीर पवित्र हुने र देवीको पूजापाठबाट सकारात्मक ऊर्जा मिल्ने बताउनुभयो । काठमाडौँमा रहेका विभिन्न शक्तिपीठको दर्शन गर्नुभएका उहाँले घरमा पनि दसैँका बेला विशेष पूजापाठ हुने बताउनुभयो । देवी तथा शक्तिका उपासकलाई दसैँ विशेष अवसर भएको उहाँले उल्लेख गर्नुभयो ।
मैतीदेवी मन्दिरमा दर्शन गर्न लाइनमा भेटिनुभएकी तनुजा झाको घर जनकपुर हो । उहाँ पाँच वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । “दसैँभरि हामी देवीको पूजापाठ गर्छांै, म पहिले व्रत बस्थेँ तर अहिले बिरामी भएकोले बसेको छैन । छोरी व्रत बसेकी छिन् ।” हालसम्म चार वटा मन्दिरको दर्शन गरेको र दसैँभर अरू देवीको मन्दिरमा पनि दर्शन गर्ने उहाँले बताउनुभयो ।
मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीका अनुसार मैतीदेवीमा नवरात्रिमा विशेष पूजा हुने गरेको छ । उहाँले भन्नुभयो, “दसैँको सप्तमीदेखि दशमीसम्म यहाँ भक्तजनको घुइँचो लाग्छ । काठमाडौँका शक्तिपीठमध्येको अर्को भद्रकाली मन्दिरमा दर्शनार्थीको शनिबार घुइँचो थियो । सर्लाहीबाट आउनुभएकी कुमारी थिङ तामाङ हातमा पूजा सामग्री लिएर पूजा गर्ने तयारीमा हुनुहुन्थ्यो । गोरखापत्रसँग कुरा गर्दै तामाङले भन्नुभयो, “नौ दिनसम्म केही पनि नखाइकन व्रत बस्ने गरेको छु । नौ दिनसम्म ध्यान, जपतप, पूजापाठ गर्ने गरेको छु । दशमीको दिन पूजा विर्सजन गरिन्छ । भद्रकाली मन्दिरका पुजारी राम देउलाले दसैँका बेला फूलपातीको दिनदेखि तीन दिन भद्रकालीमा भक्तजनको घुइँचो लाग्ने बताउनुभयो । विशेष गरी फूलपातीदेखि तीन दिन यहाँ धेरै घुइँचो हुन्छ । दैनिक तीन/चार हजार दर्शनार्थी आउनुहुन्छ । यहाँ फूलपातीको दिनदेखि बलिपूजा हुन्छ । नयाँ सवारीसाधन पूजा गर्नेहरू पनि धेरै आउनुहुन्छ ।” काठमाडौँका रहेका यी शक्तिपीठहरूका साथै काठमाडौँको साँखुस्थित वज्रयोगिनी मन्दिर, इन्द्रायणी मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । यस्तै शोभा भगवती, सङ्कटा, दक्षिणकाली, पलाञ्चोक भगवतीलगायतका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया