कार्तिक ४, २०८३ बुधबार October 21, 2026

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ?

वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैँको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो ।

विगतका वर्षमा दसैँको दिन घरमा आफन्त जम्मा हुन्थे । अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो । तर, यस बर्ष दसैँको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो । टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दसैँको खुसी पनि खोसियो ।

गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस बर्षको दसैँ विगतका वर्षजस्तो रहेन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उहाँको परिवार शोकमा छ । दसैँमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गर्नुभएकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो ।

“दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गथ्र्यौं । यस बर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो । तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” उहाँले भन्नुभयो ।

डेढ महिनादेखि छोराको पर्खाइमा रहनुभएकी भगिरथीलाई दसैँ आए पनि मनमा खुसी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उहाँको मनमा पीडा र पर्खाइ मात्रै छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ ।

राजापुर ९ तिनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ । भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उहाँको परिवारमा पनि दसैँको रौनक हराएको हो । हरेक वर्ष दसैँमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उहाँ यस बर्ष श्रीमान्को अनुपस्थितिमा निकै निराशामा दसैँ बित्ने भएको छ ।

“दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो । बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन । श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु ?” उहाँले भन्नुभयो ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए ।

उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन् । बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन् ।

गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस बर्ष दसैँको खुसी छाउन सकेन ।

“बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन् । दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन् । यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उहाँले भन्नुभयो ।

भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैँको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो ।

अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन् । दसैँको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो ।

उनीहरूका घरमा पनि चाडपर्व त आएको छ । तर पनि मनमा खुसी भने फर्किन सकेको छैन । उनीहरूका लागि यस वर्षको दसैँ टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ । शम्भु प्रसाद थारु/ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया