कार्तिक ४, २०८३ बुधबार October 21, 2026

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा जिल्ला सदरमुकाम धुन्चे तथा स्याफ्रूबेँशीबाट दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुवा, ४ कातिकः यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो ।

लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

जिल्ला सदरमुकाम धुन्चे तथा स्याफ्रूबेँशीबाट दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । धुन्चेबाट ठूलो र सानो भार्खू, ब्राबल, ठूलो स्याफ्रू, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने होटल सञ्चालक लामाले बताउनुभयो ।

लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकका लागि असोज र कात्तिक महिना अनुकुल भएको बताउँदै उहाँले भन्नुभयो, “अहिले यस क्षेत्रमा कुनै समस्या छैन, अतिथि सत्कारका लागि स्थानीय होटल व्यवसायी तयारी अवस्थामा छन् । अब ढुक्क भई लाङटाङ क्षेत्र घुम्नुहोस्, आनन्द लिनुहोस् ।”

गोसाईँकुण्ड गाउँपालिका–४ स्थित निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीयस्थल लाङटाङका वडाअध्यक्ष डुण्ढु ज्याङ्वा तामाङले सङ्घीय राजधानी काठमाडौँबाट नजिकको सुन्दर, शान्त र रमणीय लाङटाङ क्षेत्रको भ्रमण गर्न अनुरोध गर्नुहुँदै पर्यटकको सेवामा स्थानीय सरकार र निकुञ्ज परिवार रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया