कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

यात्रामा कुनै कठिनाइ उत्पन्न नहुने भएकाले ढुक्क भएर भ्रमण गर्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रसुवा, ३ कात्तिकः भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ ।

यसैबीच होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी तटीय क्षेत्रबाहेक अन्यत्र सबै ठाउँ सुरक्षित र सहज भएकाले भ्रमण गर्न सकिने बताएको छ । दुवै संस्थाका तर्फबाट बिनाहिच्किचावट घुमफिर गर्न अनुरोध छ । यसअघि जस्तै सबैखालको सुविधा दिन तयार छाँै भनिएको छ ।

नागरिक समाजका अध्यक्ष तामङले बाह्य तथा आन्तरिक पर्यटकहरूलाई स्वागत गर्न रसुवावासी तयार रहेको बताउँदै यात्रामा कुनै कठिनाइ उत्पन्न नहुने भएकाले ढुक्क भएर भ्रमण गर्न अनुरोध गर्नुभएको छ ।

यसैगरी, होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले रसुवाका धार्मिक तथा पर्यटकीय स्थल जाने सबै रूट पूर्ण रूपमा सुरक्षित रहेकाले भ्रमणमा रमाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेहरूलाई अनावश्यक डर, त्रास वा द्विविधा नराख्न आग्रह गर्नुभएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बाढीपछि धादिङको पृथ्वी राजमार्ग गल्छी हँदै देवीघाट–ढुङ्गे–त्रिशूली–वेत्रावती सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको, स्याफ्रुबेँसीमा फड्को पुल बनेको र बेलिब्रिज जडान गर्ने तयारी रहेको जानकारी दिनुभयो । उहाँले यातायात सञ्चालन आएको, होटल व्यवसाय पनि सञ्चालन हुन थालेको तथा शान्तिसुुरक्षाको अवस्था मजबुत बनाइकाले यात्रा गर्न असहज .नहुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया