कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो

जिल्लामा स्क्रब टाइफसबाट मृत्यु हुनेमध्ये दार्मा गाउँपालिकाका ९ जना र छत्रेश्वरी गाउँपालिकाका १ जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं ।  सल्यानमा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । दार्मा गाउँपालिका, ४ निवासी ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । मल्लको मृत्युसँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले मल्लको मृत्युपछि जिल्लामा स्क्रब टाइफसबाट मृत्यु हुनेको आधिकारिक तथ्याङ्क अद्यावधिक गर्न लगाइएको जानकारी दिए ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले असोज २८ गते स्क्रब टाइफस परीक्षण गर्दा मल्लमा सङ्क्रमण पुष्टि भएको जनाए । लगातार केही दिन ज्वरो आएपछि मल्लले मेडिकलबाट सिटामोल किनेर सेवन गरेका थिए । ज्वरो निको नभएपछि परीक्षण गर्दा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको शाखा प्रमुख बस्नेतले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएपछि मल्ल जिल्ला अस्पताल सल्यान पुगेका थिए । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरेर घर फर्किएका उनलाई घर पुगेपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि परिवारले उनलाई घोराहीस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । त्यहाँ दुई दिन सघन उपचार कक्ष ९आइसियु० मा राखिएपछि थप उपचारका लागि नेपालगन्ज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लामा स्क्रब टाइफसबाट मृत्यु हुनेमध्ये दार्मा गाउँपालिकाका नौ जना र छत्रेश्वरी गाउँपालिकाका एक जना रहेका छन् । मृतकमध्ये एक बालकबाहेक अधिकांश ज्येष्ठ नागरिक तथा दीर्घ रोगी रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

८१७ जनामा सङ्क्रमण पुष्टि

स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था, स्वास्थ्य शिविर, जिल्ला अस्पताल तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणका क्रममा सङ्क्रमित भेटिएको कार्यालयले जनाएको छ ।

तथ्याङ्क अनुसार दार्मा गाउँपालिकामा ८७५ जनाको परीक्षण गर्दा २८१ जना, कुमाख गाउँपालिकामा २४० जनामध्ये ८२ जना, बागचौर नगरपालिकामा ८४१ जनामध्ये २४७ जना, कालिमाटी गाउँपालिकामा २१ जनामध्ये दुई जना, छत्रेश्वरी गाउँपालिकामा १५९ जनामध्ये ५१ जना र कपुरकोट गाउँपालिकामा १९० जनामध्ये ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै बनगाड कुपिण्डे नगरपालिकामा २४ जनाको परीक्षण गर्दा ११ जना, त्रिवेणी गाउँपालिकामा १७ जनामध्ये छ जना, सिद्धकुमाख गाउँपालिकामा १८ जनामध्ये तीन जना तथा जिल्ला अस्पताल सल्यानमा ९३४ जनाको परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सङ्क्रमित घटे पनि जोखिम कायमै

वर्षायाममा बढी देखिने स्क्रब टाइफस नियन्त्रणका लागि सङ्घ, प्रदेश, जिल्ला तथा स्थानीय तहका स्वास्थ्यकर्मी र विशेषज्ञको टोली परिचालन गरी रोगको पहिचान, उपचार तथा अनुसन्धानको काम भइरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

वर्षायामको तुलनामा सङ्क्रमितको सङ्ख्या घटे पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको उनीहरूको भनाइ छ । वर्षायाम सकिएर हिउँद सुरु हुन लाग्दासमेत जिल्लाका विभिन्न स्थानमा सङ्क्रमित भेटिइरहेका छन् । लामो समयपछि पुनः एक जनाको मृत्यु भएपछि स्थानीयवासीमा त्रास बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

ग्रामीण क्षेत्रका बासिन्दा खेतीपाती, पशुपालन तथा घाँस दाउरा गर्न जङ्गल र झाडीमा जाने भएकाले सङ्क्रमणको जोखिम कायमै रहेको चिकित्सकहरूले जानकारी दिएका छन् । विशेष गरी घाँस दाउरा गर्दा तथा झाडीमा काम गर्दा आवश्यक सावधानी नअपनाउँदा सङ्क्रमणको जोखिम बढ्न सक्ने उनीहरूको भनाइ छ ।

स्वास्थ्यकर्मीले स्क्रब टाइफसबाट बच्न घाँसपात तथा झाडीमा काम गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउन, घुँडासम्म छोपिने बुट र हातमा पन्जा प्रयोग गर्न तथा घर वरिपरिका झाडी सफा राख्न आग्रह गरेका छन् ।

स्क्रब टाइफस सङ्क्रमित किर्नाको लार्भा (चिगर) को टोकाइबाट सर्ने रोग हो । समयमै पहिचान र उपचार नभएमा यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले लगातार ज्वरो आउने, टाउको दुख्ने वा अन्य असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
२०८३ कार्तिक ६, शुक्रबार
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
२०८३ कार्तिक ६, शुक्रबार
लागूऔषधविरुद्ध गाउँमै जागे नागरिक: जरिवानादेखि जनचेतनासम्म
२०८३ कार्तिक ६, शुक्रबार
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
२०८३ कार्तिक ६, शुक्रबार
चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता
२०८३ कार्तिक ६, शुक्रबार
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
२०८३ कार्तिक ६, शुक्रबार
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु
२०८३ कार्तिक ६, शुक्रबार