कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता गर्ने योजना

रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध पाँचौँ वर्षतर्फ अघि बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, ६ कात्तिक : रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताउनुभएको हो ।

यस साता सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटवार्तापछि वार्ता प्रक्रिया पुनः सुरु गर्ने सम्भावना बढेको हो । वर्षको सुरुदेखि अवरुद्ध रहँदै आएको वार्तालाई अघि बढाउन रुसले पनि तत्परता देखाएको छ ।

पेस्कोभका अनुसार वार्ता मध्य नोभेम्बरमा हुने योजना छ र त्यसमा रुस, युक्रेन तथा अमेरिकाको सहभागिता रहनेछ । रुसले नोभेम्बर १० आसपास वार्ता हुन सक्ने सङ्केत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र पारिरहेका बेला यो घोषणा आएको हो । अमेरिकी विशेष दूत विटकफले पुटिनसँग भेट गर्नुअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गर्नुभएको थियो ।

यी भेटवार्तापछि किएभ र मस्को दुवैले अमेरिकी मध्यस्थतामा प्रत्यक्ष वार्ता पुनः सुरु गर्न आफूहरू तयार रहेको सङ्केत दिएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध पाँचौँ वर्षतर्फ अघि बढिरहेको छ । युद्ध अन्त्य गर्ने उद्देश्यले हुन लागेको सम्भावित वार्तालाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।

यद्यपि, वार्ता कहिले सुरु हुने भन्ने विषयमा दुवै पक्षको प्राथमिकतामा केही भिन्नता देखिएको छ । रुसले नोभेम्बरको दोस्रो सातालाई सम्भावित समयका रूपमा अघि सारेको छ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ता जतिसक्दो चाँडो हुनुपर्नेमा जोड दिनुभएको छ ।

यसैबीच, बिहीबार राति प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले सम्भावित त्रिपक्षीय वार्ता छोटो अवधिको युद्धविराममा मात्र केन्द्रित नहुने बताउनुभएको छ । उहाँका अनुसार छलफलको मुख्य विषय अन्तिम शान्ति सम्झौतासँग सम्बन्धित सुरक्षा व्यवस्थाहरू हुनेछन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
२०८३ कार्तिक ६, शुक्रबार
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
२०८३ कार्तिक ६, शुक्रबार
लागूऔषधविरुद्ध गाउँमै जागे नागरिक: जरिवानादेखि जनचेतनासम्म
२०८३ कार्तिक ६, शुक्रबार
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
२०८३ कार्तिक ६, शुक्रबार
चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता
२०८३ कार्तिक ६, शुक्रबार
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
२०८३ कार्तिक ६, शुक्रबार
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु
२०८३ कार्तिक ६, शुक्रबार