काठमाडौँ, कात्तिक ९ गते । पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म गाईले बाली नखोज्ने र बारम्बार थुनेलोको समस्या देखिने भएपछि उहाँ पशुपालन व्यवसायको विकल्प खोजिरहनुभएको थियो ।
गाईको उपचारका लागि पटक पटक प्रयास गरे पनि समस्या समाधान हुन सकेको थिएन । पशुपालनबाट आम्दानी हुने आशा क्रमशः निराशामा बदलिँदै थियो । पशु प्रजनन प्रविधिविज्ञ डा. रविन वास्ताकोटीको नेतृत्वको टिमले डोप्लर अल्ट्रासोनोग्राफी प्रविधिबाट पशुको सूक्ष्म परीक्षण गरेको थियो । त्यसबाट उहाँको पशुमा के भएको भन्ने पत्ता लागेको थियो ।
भोटेकोशी र बुढीगण्डकी बाढीको कहरमा परेको गोरखा जिल्लाका किसानकै गोठमा प्रविधिसहितको विज्ञ टोली पुगेर पशुको परीक्षण र उपचारमा सहजीकरण गरेपछि उहाँको निराशामा आशा पलाएको छ । अत्याधुनिक प्रविधिबाट पशुको परीक्षण तथा उपचारको सुरुवात गरेपछि आफूले पालेको पशुको उपचार सम्भव हुनेमा आशा देखिएको श्रेष्ठले बताउनुभयो । “मान्छेको जस्तै पशुको शरीरका अङ्ग चेकजाँच गर्ने र उपचार गर्ने प्रविधि आइसकेको रहेछ,” उहाँले भन्नुभयो, “अहिलेसम्म पशुमा देखिएको समस्या प्राविधिकलाई सुनाएको भरमा औषधी खुवाउने गरेका थियौँ, प्रविधिको प्रयोगले ठ्याक्कै के भएको थाहा पाउने भएपछि पशुपालनमा थप आशा पलाएको छ ।” बाढीपछि किसानले थप पशुधनको क्षति बेहोर्नु नपरोस् भनेर गरिएको विशेष परीक्षण तथा उपचार कार्यव्रmमका व्रmममा करिब ६८ प्रतिशत पशुमा प्रजननसम्बन्धी विकृति देखिएको छ । यो राष्ट्रिय तथ्याङ्कभन्दा धेरै माथि हो । नेपालको पशुपालन क्षेत्रमा करिब २० देखि ३० प्रतिशत पशुमा बाँझोपनको समस्या रहेको विभिन्न अध्ययनले देखाएको पशु सेवा विभागले उल्लेख गरेको छ । बाँझोपनका कारण नेपाली किसानले वार्षिक ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ ।
गोरखाका विभिन्न पालिकामा पुगेर अत्याधुनिक भिडियो एक्सरे अर्थात् ‘अल्ट्रासोनोग्राफी’ प्रविधिको प्रयोगबाट गरिएको परीक्षणमा लामो समयसम्म बाली नखोज्ने र बाली उल्टिने समस्याका कारण पशुमा बाँझोपन देखिएको पाइएको हो । परीक्षण गरिएका ३२ गाईमध्ये सात वटामा पाठेघरको सङ्क्रमण देखिएको थियो । त्यस्तै २८ किसानले पालेका ८६ गाईभैँसीमा गरिएको थुनेलो परीक्षणमा २१ प्रतिशत पशुमा लक्षण देखिने र ३७ प्रतिशतमा लक्षण नै नभएको थुनेलो पुष्टि भएको छ । सिरानचोक गाउँपालिका–६ का वडाध्यक्ष प्रेमप्रसाद वस्तीले विज्ञ टोली गोठमै आएर सेवा दिँदा व्यावसायिक पशुपालन गरिरहेका किसानलाई ठुलो राहत मिलेको बताउनुभयो । पशुको स्वास्थ्य परीक्षण र उपचारका लागि किसानले पशु अस्पतालसम्म लैजानुपर्ने बाध्यता हट्दा समय र खर्च दुवै बचत भएको उहाँले उल्लेख गर्नुभयो ।
प्रविधिले सहज बनाउँदै पशु उपचार
वरिष्ठ पशु चिकित्सक डा. प्रकाश अधिकारीले मानिसको नियमित स्वास्थ्य परीक्षण गरे जस्तै दुधालु पशुमा पनि बाँझोपन र थुनेलो परीक्षण तथा उपचारलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । अत्याधुनिक प्रविधिको प्रयोगबाट पशुको प्रजनन प्रणालीमा देखिने विकृति समयमै पहिचान गरी उपचार गर्न सके पशुपालन व्यवसायमा हुने आर्थिक क्षति कम गर्न सकिने अधिकारीले बताउनुभयो ।
बाँझोपनले आम्दानीमा असर
पशुपालन नेपाली किसानको आम्दानीको प्रमुख आधार हो तर पशुमा बाँझोपनको समस्या देखिँदा किसानले अपेक्षित आम्दानी लिन सकिरहेका छैनन् । पशुमा बाँझोपन तथा बारम्बार बाली उल्टिने समस्याका कारण गर्भधारणमा ढिलाइ हुने, पशुको उत्पादनशील अवधि घट्ने र उपचारमा अतिरिक्त खर्च गर्नुपर्ने अवस्था आउने गरेको छ ।
पशुमा बाँझोपन तथा बारम्बार बाली उल्टिने समस्याका प्रमुख कारणमा पाठेघरको सङ्क्रमण, हर्मोनको असन्तुलन, परजीवीको सङ्क्रमण, पोषण तथा भिटामिनको कमी र उपयुक्त समय पहिचान नगरी कृत्रिम गर्भाधान गर्नु रहेका छन् ।
पशुमा बाँझोपनको समस्या समयमै पहिचान गर्न नसक्दा किसानले लामो समयसम्म पशु पालेर पनि अपेक्षित उत्पादन लिन नसक्ने अवस्था आउने गरेको पशु चिकित्सक अधिकारीले बताउनुभयो ।
दुध उत्पादन घटाउने समस्या
पशुमा बाँझोपनसँगै थुनेलो पनि दुग्ध उत्पादनमा चुनौतीका रूपमा देखिएको छ । गोठमा फोहोर तथा ओसिलो वातावरण, दुध दुहुने गलत तरिका र सरसफाइमा ध्यान नदिँदा पशुमा थुनेलोको समस्या देखिने गरेको छ ।
थुनेलोका कारण दुध उत्पादन घट्ने, दुधको गुणस्तरमा असर पर्ने र उपचारमा अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ । पशुमा थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई प्रकारको हुन्छ । लक्षण नदेखिने थुनेलोमा पशुको थुन सामान्य देखिए पनि दुध उत्पादनमा असर पर्ने र दुधको गुणस्तर बिग्रने सम्भावना रहन्छ ।
नेपालका दुधालु पशुमा लक्षण नदेखिने थुनेलोको प्रकोप १३.६ प्रतिशतदेखि ६० प्रतिशतसम्म रहेको छ । थुनेलोको रोकथामका लागि गोठको सरसफाइमा विशेष ध्यान दिनुपर्ने पशु चिकित्सकको सुझाव छ । दुध दुहिसकेपछि थुनलाई ‘एन्टिसेप्टिक’ घोलमा डुबाउने, दुध दुहुने भाँडाकुँडा सफा राख्ने र पशुलाई सफा तथा सुक्खा ठाउँ (थलो) मा राख्नुपर्नेमा चिकित्सकले जोड दिएका छन् । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया