बागमती, ९ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तरराष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गर्नुभयो । खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,” उहाँले सन्देशमा भन्नुभएको छ ।
खेलकुद युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा गर्दै उहाँले सन्देशमा, “खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्”, भन्नुभएको छ ।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट सङ्घ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीलाई उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्याउने अपेक्षा गरिएको सन्देशमा उल्लेख छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया