झापा, १० कात्तिक : मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लीनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ ।
नगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र उपभोक्ता जागरण अभियान नेपालको टोलीले चारआली, धुलावारी, इट्टाभट्टा र काँकडभिट्टामा सञ्चालित दुई दर्जनभन्दा बढी अस्पताल, क्लीनिक र फार्मेसीमा अनुगमन गरेको थियो ।
विना अनुमति सञ्चालन गरिएका स्वास्थ्य संस्थालाई आजैदेखि शिलबन्दी गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले राससलाई बताउनुभयो ।
शिलबन्दीमा मेचीनगर–१३ चारआलीस्थित मनकामना अस्पताल र मेचीनगर–१० धुलाबारीस्थित सामुदायिक स्वास्थ्य सेवा प्रालिसमेत रहेका छन् । इजाजतसम्बन्धी कागजात नभएका दुईवटै संस्थालाई जनही रु दुई लाख ५० हजार जरिवाना गरिएको छ ।
इजाजत नलिई प्रयोगशाला (ल्याब) सञ्चालन गरेका मेचीनगर–१० धुलाबारीको शिखर अस्पताल प्रालिलगायत ११ वटा अस्पताल, क्लीनिक र फार्मेसीलाई रु ७५ हजारका दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
अवैध रुपमा प्रयोगशाला सञ्चालन गर्दै आएका प्रतिमा जमूना मेडिकल, न्यूमिलन मेडिकल हल, रोहन मेडिकल, दिव्यांशी मेडिकल, बरुनाभ मेडिकल, भरोसा मेडिकल, काँकडभिट्टा आइकेयर सेन्टर, तेजस्वी मेडिकल, रस्मिका फार्मेसी र जीवन रक्षा मेडिकल जनही रु ७५ हजारका दरले जरिवाना गरिएको छ ।
“कहलिएका मेडिकल क्लीनिक र अस्पतालमा समेत विना इजाजत प्रयोगशाला सञ्चालन गरिनु गम्भीर लापरबाही हो”, बजार अनुगमनमा खटिनु भएको उपभोक्ता जागरण अभियान झापाका सदस्य अर्जुन कार्की भन्नुहुन्छ, “नागरिकको स्वास्थ्य सेवासँग जोडिएको सम्वेदनशील विषयमा गल्ती र लापरबाही गर्ने छुट कसैले पनि पाउनुहुँदैन ।”
अनुगमनपछि अस्पतालसहित ११ वटा निजी स्वास्थ्य संस्था तथा क्लीनिकमा अनुगमन टोलीले शिलबन्दी गरेको थियो । जरिवाना बुझाएर इजाजतपत्र अद्यावधिक गरेपछि मात्र शिल खोलिने मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया