काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी कात्तिक २९ गते चीन प्रस्थान गर्ने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्रीसहित २० जना सांसद १० दिने भ्रमणका लागि चीन जान लागेका हुन्।
भ्रमणमा सहभागी हुने सांसदहरूको नामावली भने अझै अन्तिम रूप दिइएको छैन। एक सांसदका अनुसार महामन्त्री आचार्यले भ्रमणमा जाने सांसदहरूको नाम मागेका छन्। भाइटिकाको चार दिनपछि भ्रमण सुरु हुने भए पनि टोलीमा को-को रहने भन्ने विषयमा निर्णय भइनसकेको उनले बताए।
हालसम्म महामन्त्री आचार्यसँगै सांसदहरू लिमा अधिकारी, हरि ढकाल र समीक्षा बास्कोटाको सहभागिता निश्चित भएको ती सांसदले जानकारी दिए। अन्य सदस्यहरूको टुंगो लागेपछि पार्टीले आधिकारिक रूपमा नाम सार्वजनिक गर्ने तयारी गरेको छ।
चीन भ्रमणका क्रममा कुन विषयलाई प्राथमिकता दिइनेछ भन्नेबारे भने हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।
यसअघि रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा जाने चर्चा चले पनि अन्तिम समयमा उक्त भ्रमण स्थगित भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया