कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल

न्यूनतम आवश्यकता पूरा हुनेगरी स्थान पहिचान गरी विपद्का समयमा आवश्यक परे तत्काल शिविर सञ्चालन गर्नसक्ने व्यवस्था गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ कात्तिकः प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताउनुभएको छ ।

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उहाँले विपद् प्रतिकार्यमा विगतको तुलनामा यसपटक समन्वयमा केही सुधार भए पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानसेनापति सिग्देलले विपद्को प्रकृति र जिम्मेवारीअनुसार ‘क्याटोगोरी’ छुट्याएर स्पष्ट गर्नुपर्ने तथा लामो ‘चेन अफ कमाण्ड’ले प्रतिकार्यमा ढिलाइ हुने भएकाले छरितो कमाण्ड संरचना आवश्यक रहेको बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६ ले विभिन्न निकायलाई समन्वयकारी भूमिका दिए पनि आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ मा स्पष्ट ‘चेन अफ कमाण्ड’ नतोकिँदा फिल्डमा प्रतिकार्यको नेतृत्व कसले गर्ने भन्नेमा प्रारम्भिक चरणमा सेना, सुरक्षा तथा नागरिक निकायबीच सञ्चालनगत द्विविधा देखिएको उहाँले अनुभव सुनाउनुभयो ।

भोटेकोशी बाढीपछि ३५ नटिकल माइल क्षेत्रमा २१ वटा हेलिकप्टर परिचालन गरिँदा हवाई क्षेत्र व्यवस्थापनमा कठिनाइ भएको बताउँदै प्रधानसेनापति सिग्देलले अनावश्यक ड्रोन उडानले उद्धार कार्यमा समस्या सिर्जना गरेकाले त्यस्तो समयमा प्रभावकारी ‘एयरस्पेस म्यानेजमेन्ट’को आवश्यकता महसूस भएको उल्लेख गर्नुभयो ।

सेनाको विद्यमान हवाई क्षमता राष्ट्रियकै क्षमता भएकाले एकीकृत रूपमा विकास गरिनुपर्ने बताउँदै उहाँले सेनाका एयरबेसलाई थप सुदृढ गर्दै आवश्यकताअनुसार जहाज तथा हेलिकप्टर थप्न सुझाव दिनुभयो । सेनाको हवाई क्षमतालाई राष्ट्रिय सम्पत्तिका रूपमा उच्चतम स्तरमा राख्नुपर्ने उहाँको सुझाव थियो ।

निजी हवाई कम्पनीमा कार्यरत पाइलटमध्ये करिब ३५ देखि ४० प्रतिशत र प्राविधिक जनशक्तिमध्ये करिब ८० प्रतिशत नेपाली सेनाकै अनुभवी जनशक्ति रहेको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले सेनाको विद्यमान हवाई क्षमता कमजोर हुन नदिन स्तरोन्नति आवश्यक रहेको बताउनुभयो ।

प्रत्येक प्रदेशमा न्यूनतम आवश्यकता पूरा हुनेगरी स्थान पहिचान गरी विपद्का समयमा आवश्यक परे तत्काल शिविर सञ्चालन गर्नसक्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

विपद्को बहुजोखिम मूल्याङ्कन तथा नक्साङ्कनपछि मात्रै विकास आयोजना सञ्चालन गर्न तथा निर्माण भइसकेका आयोजनालाई आवश्यकताअनुसार पुनःस्थानान्तरण गर्न सेनाको सुझाव थियो ।

विपद्का बेला सुरुङ तथा जलमग्न संरचनामा तत्काल उद्धारका लागि विशिष्टिकृत टोली, क्षति तथा आवश्यकता मूल्याङ्कन टोली र आवश्यक उपकरण तयारी अवस्थामा राख्नुपर्ने बताउँदै प्रधानसेनापति सिग्देलले उच्च क्षमताका ‘स्लज पम्प’, सोलार प्रणाली, सीमित स्थानमा श्वासप्रश्वासका लागि प्रयोग हुने उपकरण, सुरुङ सञ्चार प्रणाली तथा थर्मल/लिडार ड्रोनजस्ता उपकरण आवश्यक रहेको बताउनुभयोे ।

विदेशी उद्धार टोली परिचालन गर्नुअघि आवश्यकता मूल्याङ्कन गरी आवश्यकताअनुसार मात्रै आह्वान गर्नुपर्ने सेनाको सुझाव थियो । समन्वयबिना उद्धारस्थलमा प्रवेश गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी प्राथमिकताका आधारमा प्रवेशको व्यवस्था गर्न पनि सेनाको सुझाव छ ।

सेनाका अनुसार उद्धार तथा प्रतिकार्यका क्रममा हेल्मेट, फ्ल्यास ज्याकेट र आवश्यक उपकरणबिनै फिल्डमा प्रवेश गर्ने अवस्था देखिएकाले आगामी दिनमा त्यस्तो कार्यलाई रोकिनुपर्छ ।

विपद् प्रतिकार्यसँगै पुनःस्थापना, पुनर्निर्माण र पुनरुत्थानमा जिल्ला तहले नेतृत्व लिने तथा राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणले सहयोग गर्ने व्यवस्था गरिनुपर्ने सुझाव प्रस्तुत गरियो । विपद्पछिको खोज तथा उद्धारलाई पुनरुत्थानको चरणमा निरन्तरता दिने, भग्नावशेष हटाउने, महत्वपूर्ण संरचनाको पुनःस्थापना, सडक सम्पर्कलाई प्राथमिकता दिने तथा स्वास्थ्य र शिक्षा प्रणाली विस्तार गर्नुपर्ने सेनाको सुझाव छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार