काठमाडौँ । नेपालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ बनाउन अमेरिकाले १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका हेलिकप्टर, ड्रोन र उद्धार डुङ्गा उपलब्ध गराउने भएको छ ।
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले प्रधानसेनापति अशोकराज सिग्देलसँग सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता गर्दै यसबारे जानकारी गराएकी हुन् । भेटमा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको बताइएको छ ।
राजदूत बोल्डिनले नेपाललाई उपलब्ध गराउन लागिएका हेलिकप्टर, ड्रोन र उद्धार डुङ्गाको आपूर्ति आगामी वर्षदेखि सुरु हुने जानकारी दिएकी थिइन् । यी उपकरणले विपद्का बेला खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र प्रभावित नागरिकलाई समयमै सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अमेरिकी दूतावासका अनुसार यसअघि गत वर्षको शरद ऋतुमा अमेरिकाले नेपाललाई ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम२८ स्काइट्रक विमान उपलब्ध गराएको थियो । ती विमानले विपद्का समयमा राहत सामग्री ढुवानी तथा उद्धार कार्यमा सहयोग पुर्याउँदै आएका छन् ।
दूतावासले अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञताको सहयोगबाट नेपालको खोज तथा उद्धार क्षमता, घाइतेको चिकित्सकीय उद्धार र आपत्कालीन प्रतिकार्य प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
विपद्का समयमा नागरिकको जीवन रक्षा गर्न, प्रभावित समुदायसम्म राहत तथा उद्धार सेवा पुर्याउन र आपत्कालीन अवस्थाको सामना गर्ने नेपालको क्षमता अभिवृद्धि गर्न यो सहयोग उपयोगी हुने अमेरिकी पक्षको अपेक्षा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया