हेटौँडा, कात्तिक १२ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थीको माग, बजारको आवश्यकता र राज्यको लगानीको औचित्य पुष्टि हुनेगरी मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबारदेखि सुरु भएको ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिने कार्यशालालाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयको सङ्ख्या बढाउनुभन्दा सञ्चालनमा रहेका विश्वविद्यालयलाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
मन्त्री पोखरेलले सञ्चालनमा रहेका विश्वविद्यालयको अवस्था, विद्यार्थीको माग र बजारको आवश्यकताको अध्ययन गरेर मात्रै नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालय स्थापना गर्दा तीन तहका सरकारबिच समन्वय गरी आवश्यक स्रोत जुटाउनुपर्ने उहाँको भनाइ छ । सरकारले शिक्षामा लगानी गर्न तयार रहेपनि त्यसबाट प्रतिफल प्राप्त हुने आधार स्पष्ट हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले सङ्घीय, प्रादेशिक तथा विज्ञान प्रतिष्ठानअन्तर्गत देशभर २८ वटा विश्वविद्यालय रहेको जानकारी दिँदै थप विश्वविद्यालय स्थापना गर्ने क्रम जारी रहेको बताउनुभयो । विश्वविद्यालयको सङ्ख्या मात्रै नभई तिनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्नु समस्या रहेको उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले प्रादेशिक विश्वविद्यालयमा सङ्घीय सरकार र विश्वविद्यालय अनुदान आयोगको भूमिका स्पष्ट हुनुपर्ने बताउनुभयो । विश्वविद्यालय स्थापना गर्नुअघि नै आयोगसँग परामर्श र समन्वय गर्नसके संस्थागत विकासमा सहज हुने उहाँको भनाइ छ । आगामी दिनमा स्थापना हुने विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव छ ।
पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्ग केसी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झा, रेशु अर्याल ढुङ्गानालगायतले विश्वविद्यालयको सङ्ख्याभन्दा गुणस्तरीय शिक्षा प्रणाली महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामालगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार विश्वविद्यालयअन्तर्गत मकवानपुरको हेटौँडा क्याम्पस, चितवनको भुवानी शङ्कर क्याम्पस र माडी क्याम्पस, काठमाडौँको कुलेश्वरस्थित जनमैत्री क्याम्पस तथा कपन क्याम्पस र काभ्रेको चैतन्य क्याम्पस रहेका छन् ।
बागमती विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, प्रादेशिक विश्वविद्यालयको संस्थागत विकास तथा प्रभावकारी समन्वयका विषयमा छलफल भएको थियो । कार्यशालामा सङ्घीय, प्रादेशिक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, क्याम्पस प्रमुख र प्राध्यापकहरूको सहभागिता रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया