काठमाडौँ, कात्तिक १८ गते । न्यायालयभित्र उठेका प्रश्नलगायतका समसामयिक विषयमा छलफलका लागि प्रतिपक्षी दलहरूले तत्काल संसद् अधिवेशनको माग गरेका छन् । प्रमुख प्रतिपक्षीसहितका दलको बैठकको साझा निष्कर्ष अनुसार प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर अधिवेशन आह्वानका लागि आग्रह गर्नुभएको छ ।
पछिल्लो समय न्यायाधीशमाथि न्यायिक विचलनको प्रश्न उठेको, सञ्चारगृहहरूमा प्रहरी धरपकड भएको र सरकारले अध्यादेशको समेत गृहकार्य गरेको भन्दै विपक्षी दलहरूले अधिवेशन माग गरिरहेका छन् ।
भेटपछि नेता आङ्देम्बेले भन्नुभयो, “संसद् चाँडै बोलाउनु पर्यो भनेर आग्रह गरेको छु । त्यो हाम्रो हिजोको निर्णयमा पनि थियो । अहिले जसरी प्रेसमाथि धरपकड भएको छ; न्यायालय, प्रहरी प्रशासन र अन्य धेरै निकायमा प्रश्न उठिरहेका छन्; यसमा छलफल आवश्यक छ । सबै विषयमा छलफल गर्न र यसलाई सहज रूपमा अवतरण गराउन संसद्बाट संवाद सुरु हुनुपर्ने जरुरी भइसक्यो ।”
आङ्देम्बेले सरकारले विचाराधीन विधेयक तथा अन्य विषयमा पनि अध्यादेशको तयारी गरिरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । लोकतान्त्रिक व्यवस्थामा अध्यादेशलाई प्राथमिकता दिन हुन्न भनेर आफूले ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । यस्तै सुकुमवासी र बाढीपीडित परिवारलाई सरकारले उचित राहत दिन नसकेको पनि आङ्देम्बेले बताउनुभयो । सभामुख अर्यालले संसद्को अधिवेशन मङ्सिर दोस्रो सातासम्म आह्वानको तयारी भइरहेकोबारे आङ्देम्बेलाई जानकारी गराउनुभएको थियो ।
यस्तै सभामुख अर्यालसँग मङ्गलबार नै नेकपा (एमाले) संसदीय दलका तर्फबाट उपनेता पद्माकुमारी अर्याल र सांसद गुरुप्रसाद बरालले भेट गर्नुभयो । सांसद अर्यालका अनुसार भेटमा समसामयिक विषयमा ध्यानाकर्षण गराइएको छ । वैशाख २८ बाट सुरु भएको सङ्घीय संसद्को दोस्रो अधिवेशन गत असोज १७ देखि अन्त्य गरिएको थियो । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया