कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

मधेस सरकारबाट नेकपाका चार मन्त्रीले दिए राजीनामा

मधेस प्रदेश सरकारले अबको आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिंचाई तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन् ।

गत असोज ३० गते नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो । अल्पमतमा रहेको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीहरूले पनि राजीनामा दिएका हुन् । मधेस प्रदेश सरकारले अबको आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था रहेको छ ।

निवर्तमान ऊर्जा, सिंचाई तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आफूहरूले राजीनामा दिएको बताउनु भयो । उहाँले सरकारको कामकारबाहीप्रति असन्तुष्टि भएर नभई पछिल्लो समय देखिएको अल्पमतको समस्याको समाधानका लागि राजीनामा दिएको स्पष्ट पार्नुभयो ।

नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग जाने भन्ने विषयमा भने उहाँले तत्काल केही बताउन चाहनुभएन । नेकपाका चार मन्त्रीले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको समीकरण थप निर्णायक बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया