कार्तिक २२, २०८३ आइतबार November 8, 2026

दोलालघाट–चर्नावती सुरुङमार्ग : सम्भाव्यता अध्ययन सुरु

मुलुकको पहाडी भूगोलमा घुमाउरा सडकको विकल्पका रूपमा डाँडा छेड्दै छोटो र सुरक्षित मार्ग निर्माण गर्ने सरकारी नीति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २२ गते । मुलुकको सडक सञ्जाललाई आधुनिक भू–इन्जिनियरिङतर्फ डोर्‍याउँदै सरकारले काभ्रेपलाञ्चोकको दोलालघाटदेखि दोलखाको चर्नावती जोड्ने प्रस्तावित ‘दोलालघाट–चर्नावती सुरुङमार्ग’ को सम्भाव्यता अध्ययन कार्यलाई अगाडि बढाएको  छ । मुलुकको पहाडी भूगोलमा घुमाउरा सडकको विकल्पका रूपमा डाँडा छेड्दै छोटो र सुरक्षित मार्ग निर्माण गर्ने सरकारी नीति अन्तर्गत यो आयोजनालाई विशेष प्राथमिकतामा राखिएको  हो ।

चालु आर्थिक वर्षको बजेटमा काभ्रेको भुम्लु गाउँपालिका–८, दोलालघाटदेखि दोलखाको शैलुङ गाउँपालिका–७, चर्नावतीसम्म जोड्ने यस सुरुङमार्गको अध्ययनका लागि बजेट विनियोजन भएसँगै यसले मूर्तरूप लिन थालेको हो । चालद्र आव २०८३/८४ मा ‘दोलालघाट–चर्नावती सुरुङमार्ग’ निर्माण प्रक्रिया तथा सम्भाव्यता अध्ययनका लागि १८ लाख ९० हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सरकारले यस आवमा एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण कार्यलाई अगाडि बढाउन पूर्वाधार विकास मन्त्रालय अन्तर्गत कुल ६७ करोड एक लाख रुपियाँ विनियोजन गरेको छ, जसमध्ये यस सुरुङमार्गलाई उक्त रकम छुट्याइएको हो ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्र्देशक इन्जिनियर राजेश पौडेलले अहिले मुलुकभरि विभिन्न आठ वटा सुरुङमार्ग निर्माण र २३ वटा अध्ययनको क्रममा रहेको अहिलेको अवस्थामा ‘दोलालघाट–चर्नावती सुरुङमार्ग’ को सम्भाव्यता अध्ययन कार्यलाई अगाडि बढाइएको जानकारी दिनुभयो । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र अन्तर्गत नै देशभर सुरुङमार्ग निर्माणको अध्ययन तथा निर्माण हुने गर्छ ।

काठमाडौँ र चीनको दुरी घटाउने सबैभन्दा छोटो द्रुतमार्गका रूपमा समेत हेरिएको यो सुरुङमार्गको सम्भाव्यता अध्ययनमार्फत सुरुङको यथार्थ लम्बाइ, भौगर्भिक अवस्था र लगानीको ढाँचा (सार्वजनिक–निजी साझेदारी वा वैदेशिक ऋण) तय गर्ने प्रक्रिया सडक विभागमार्फत अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

समग्र आर्थिक विकासमा योगदान 

राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगको पूर्वाधार क्षेत्र हेर्नुहुने अर्जुनजङ्ग थापाले चीन, नेपाल र भारतको व्यापारिक यातायातमा महत्वपूर्ण योगदान पुग्न सक्ने यो सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मुलुकको समग्र आर्थिक विकासमा दीर्घकालीन तथा रणनीतिक प्रभाव पर्ने देखिएको बताउनुभयो । यो सुरुङमार्ग निर्माणले चीनसँगको व्यापारिक दुरी कटौती हुने उहाँको भनाइ छ ।

काठमाडौँबाट चीनको सीमा जोड्ने सुरुङमार्गसहितको यो सडकखण्ड बनेपछि सामान ढुवानीको समय र इन्धन खर्चमा भारी कटौती हुने छ, जसले आयातनिर्यातमा लागत घटाउने उहाँले बताउनुभयो । भारतबाट बिपी राजमार्ग हुँदै आउने सामान र चीनबाट आउने सामग्रीलाई सिधै जोड्न यो सुरुङमार्गले ‘पुल’ को काम गर्ने उहाँले बताउनुभयो ।

त्यसै गरी दोलखा र आसपासका क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाका ‘हेभी’ उपकरण ढुवानी गर्न र काठमाडौँसम्म विद्युत् प्रसारणका पूर्वाधार निर्माण तथा मर्मत गर्न सहज हुने स्थानीय चूडाकुमार कार्कीले बताउनुभयो । यो सुरुङमार्ग सञ्चालनसँगै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा प्रभाव पर्ने र काभ्रे, दोलखा, सिन्धुपाल्चोक तथा रामेछापका नागरिकको जीवनस्तरमा रूपान्तरण ल्याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रको कृषि बजारको विस्तार, पर्यटनमा क्रान्ति, गुणस्तरीय शिक्षा तथा स्वास्थ्यमा पहुँच, रोजगारी र स्थानीय उद्यम वृद्धि हुने विश्वास गरिएको उहाँको भनाइ छ ।

मुलुकले भर्खरै नागढुङ्गा सुरुङमार्ग सफलतापूर्वक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको सन्दर्भमा चर्नावती–दोलालघाट सुरुङमार्ग पनि नेपाली इन्जिनियरिङ र समृद्धिको यात्रामा अर्को ऐतिहासिक कोसेढुङ्गा बन्ने देखिएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया