कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

दशौँ राष्ट्रिय खेलकुद : सुर्खेतमा २३, अन्य जिल्लामा ९ खेल

पूर्वाधार अभावले राष्ट्रिय खेलकुदका केही खेल लुम्बिनीमा पनि हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौै । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो।

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ।

तर औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा भने सुरू भइसक्नेछ। क्रमश: अन्य खेल पनि खेलाइदै लगिने बताइएको छ।

मुख्य आयोजक जिल्ला सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्शल आर्ट्सका खेलहरू सञ्चालन हुनेछन्। सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन्।

कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ। यसबाहेक कबड्डी, आर्चरी, भारत्तोलन, ईस्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ।

कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएको छ। यसअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन्।

कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिनेछ। यसअनुसार पौडी र सुटिङका खेलहरू नेपालगञ्ज (बाँके) मा आयोजना हुनेछन् भने टेनिस र खो खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ।

यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, ५ खेल कर्णालीका अन्य चार जिल्लामा र ४ खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया