कार्तिक २५, २०८३ बुधबार November 11, 2026

फेरिँदै देउसीभैलो खेल्ने शैली

सबै वर्ग र समूह एकजुट भएर संरक्षणमा लाग्न नसके मौलिक देउसीभैलो केही वर्षमै लोप हुने अवस्थामा पुग्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ । तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ । गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो खेल्ने पुरानो चलन अहिले क्रमशः परिवर्तन हुँदै गएको छ ।

आधुनिक प्रविधिको प्रयोग बढेसँगै देउसीभैलो खेल्ने शैली, बाजागाजा र गीतसङ्गीतमा समेत परिवर्तन आएको हो । केही वर्षअघिसम्म लमजुङका गाउँघरमा तिहारका बेला साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर मादल र झ्याली बजाउँदै तिहारसँग सम्बन्धित मौलिक गीत गाउने, भट्याउने र नाचगान गर्ने गर्थे । देउसीभैलो मनोरञ्जनको माध्यममात्र नभई संस्कार, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसरसमेत बन्ने गरेको थियो ।

घरघरमा पुगेर देउसीभैलो खेल्दा घरधनीले समूहलाई स्वागत गर्दै आफ्नो गच्छेअनुसार अन्न, पैसा तथा अन्य सामग्री दिने चलन थियो । देउसीभैलो खेल्ने समूहले पनि घरपरिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै भट्याउने तथा आशीर्वाद दिने गर्थे । यसले गाउँघरमा आपसी सद्भाव, सहयोग र आत्मीयता बढाउनसमेत योगदान पुर्‍याउने गरेको थियो ।

दोर्दी गाउँपालिकाका ७५ वर्षीय बुद्धिमान श्रेष्ठका अनुसार पहिले साथीभाइ एकै ठाउँमा भेला भएर परम्परागत बाजा बजाउँदै तिहारका मौलिक गीत गाउने र भट्याउने गरिन्थ्यो ।

देउसीभैलोमा बलिराजाको प्रसङ्ग जोडेर गीत गाउने, परम्पराको महत्त्व बुझाउने तथा घरपरिवारलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने चलन रहेको उनले बताए । “पहिले देउसीभैलोमा आफ्नै मौलिक भाका र परम्परागत गीत गाउने चलन थियो, अहिले त्यस्तो शैली कम हुँदै गएको छ”, उनले भने ।

उनका अनुसार अहिले तिहारसँग सम्बन्धित मौलिक गीतभन्दा मनोरञ्जन र नाचगानलाई प्राथमिकता दिने आधुनिक गीत बढी बज्न थालेका छन् । कतिपय समूहमा विदेशी गीतको प्रभावसमेत देखिन थालेको छ ।

मादल र झ्याली बजाएर मौलिक भाकामा नाचगान गर्ने समूह कमै भेटिने गरेको उनको भनाइ छ । आधुनिक प्रविधिको प्रयोगसँगै देउसीभैलो खेल्ने शैलीमा आएको परिवर्तनलाई युवापुस्ताले भने सहजता र मनोरञ्जनसँग जोडेर हेर्ने गरेका छन् ।

मस्र्याङ्दी गाउँपालिकाका पूर्णबहादुर गुरुङका अनुसार अहिले देउसीभैलोमा डेक, उफर र माइकको प्रयोग बढेको छ । यसले गीतसङ्गीत बजाउन र सामूहिक प्रस्तुति दिन सहज बनाएको छ । पहिले मादल बजाउन जान्ने मानिस कम हुनु र युवापुस्तामा त्यसप्रति खासै चासो नहुनु पनि परम्परागत बाजाको प्रयोग घट्नुको एउटा कारण रहेको उनी बताउँछन् ।

अहिले डेक र उफरबाट गीत बजाउन तथा माइक प्रयोग गर्न सहज भएकाले आधुनिक उपकरणप्रतिको आकर्षण बढेको उनको भनाइ छ । आधुनिक उपकरणले देउसीभैलोलाई सहज र मनोरञ्जनात्मक बनाए पनि पुराना भाका र गीतप्रति युवापुस्ताको रुचि तथा जानकारी घट्दै गएको उनले बताए ।

मौलिकता जोगाउन युवापुस्ताले तिहारसँग सम्बन्धित परम्परागत गीत गाउने, नाच्ने र संस्कृतिको महत्त्व बुझ्न आवश्यक रहेको उनको भनाइ छ । सबै वर्ग र समूह एकजुट भएर संरक्षणमा लाग्न नसके मौलिक देउसीभैलो केही वर्षमै लोप हुने अवस्थामा पुग्न सक्ने उनको चिन्ता छ ।

स्थानीय लोकसंस्कृतिका जानकार रामबहादुर घिमिरे देउसीभैलोलाई मनोरञ्जनसँगै परम्परागत संस्कार, सामाजिक सद्भाव र आपसी आत्मीयतासँग जोडिएको सांस्कृतिक अभ्यासका रूपमा लिन्छन् ।

उनका अनुसार देउसीभैलोले दुःखमा परेका नागरिकलाई समेत केही समय खुसी र मनोरञ्जन प्रदान गर्दै समाजमा सुख, शान्ति र आपसी सद्भावको सन्देश फैलाउने काम गर्छ । घरपरिवारलाई शुभकामना र आशीर्वाद दिने परम्परागत पक्षसमेत यसमा जोडिएको छ ।

आधुनिक प्रविधिको बढ्दो प्रयोगले परम्परागत गीत, भाका र बाजागाजाको अभ्यास कमजोर बनाउँदै लगेको उनको भनाइ छ । मौलिक संस्कृति संरक्षणका लागि स्थानीय तहले युवापुस्तालाई यसको महत्त्व बुझाउने, परम्परागत गीत, भाका र बाजागाजासम्बन्धी तालिम दिने तथा सांस्कृतिक समूहलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

नयाँ पुस्तालाई यसप्रति जागरुक बनाउन सके मात्रै मौलिक संस्कृतिको संरक्षण गर्न सकिने उनको भनाइ छ । देउसीभैलो समयसँगै बदलिनु स्वाभाविक भए पनि यसको मौलिक पहिचान जोगाउनु उत्तिकै आवश्यक छ । आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत गीत, बाजागाजा र भट्याउने शैलीलाई पनि निरन्तरता दिन सके तिहारको सांस्कृतिक मौलिकता नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहज हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार