कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

खेलमैदानलाई व्यवस्थित बनाउन सङ्घीय सरकारबाट रु दुई करोड बजेट विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली तनहुँ २६ कात्तिक : ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन सङ्घीय सरकारबाट रु दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो ।

खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदान व्यवस्थित गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिनेछ ।

नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले खेलमैदान स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट प्राप्त बजेट कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताउनुभयो । नगरपालिकाको बजेटबाट यसअघि नै खेलमैदानमा ‘प्यारापिट’ निर्माण गरिसकिएको छ । प्यारापिट निर्माणपछि अब मैदानको अवस्था सुधार गर्दै खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार थप्ने तयारी गरिएको गुरुङले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमैदान रहेको जग्गा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको र खेलमैदानलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । आवश्यक पूर्वाधार थपिएपछि खेलमैदानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने उहाँको भनाइ छ ।

दमौली खेलमैदानमा आवश्यक पूर्वाधारको अभाव हुँदा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । हाल यहाँ मुख्यतः सेभेन ए साइड फुटबल प्रतियोगिता मात्रै सञ्चालन हुने गरेको छ । खेलमैदानको अवस्था सुधार गरी आवश्यक संरचना निर्माण गर्न सके जिल्लास्तरीय तथा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढ्नेछ । यसबाट स्थानीय खेलाडीलाई अभ्यास र प्रतिस्पर्धाका अवसर उपलब्ध गराउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको खेलकुद समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

आधुनिक सुविधासहितको खेलमैदान निर्माणले व्यास नगरपालिकाको समग्र खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नेछ । यसले स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सहयोग पुग्ने विश्वास गरिएको दमौलीका युवा भुवन गोशलीले बताउनुभयो । वर्षौंदेखि युवाहरूको सपनाका रूपमा रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “खेलमैदानका लागि बजेट विनियोजन भएपछि खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको छ । खेलकुद पूर्वाधारको विकासले युवाहरुलाई सकारात्मक बाटोमा अग्रसर गराउनाका साथै दमौलीलाई खेलकुदको केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्नेछ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार