असार २२, २०८२ आइतबार July 6, 2025

म्याग्दीमा समुदायस्तरमा कोरोना फैलिन नदिन दिनरात खटिएका छौः प्रजिअ अधिकारी (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी जिल्लामा प्रजिअको जिम्मेवारी सम्हालेपछि हजुरले कोरोना नियन्त्रणमा गर्नुभएका कामहरु के कस्ता छन् ?

म म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएको करिब साँढे २ महिना भएको छ । यस बीचमा म्याग्दी जिल्लामा कोभिड नियन्त्रणका लागि सर्वदलीय, सर्वपक्षीय बैठकहरु बस्ने र कोभिड नियन्त्रण सम्बन्धमा साझा प्रतिबद्धता कायम गराउने काम भएको छ । साथै स्थानीय तहका प्रमुखहरु समेतको बैठकबाट प्रत्येक टोलबस्तीमा निगरानी समूह परिचालन गर्ने, प्रत्येक स्थानीय तहमा अक्सीजन र स्वास्थ्यकर्मी सहितको पाँच बेडको कोभिड अस्पताल तयार गर्ने, प्रन्ध्र बेडको आइसोलेसन निर्माण गर्ने, गाँउटोल बस्तीमा माइकिङ्ग सहित जनचेतना कार्यक्रम संचालन गर्ने, म्याग्दी प्रवेश गर्ने सीमानाका कालीपुलको होल्डिङ सेन्टरमा आगन्तुक म्याग्दीबासीको रेकर्ड राखी सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइन र होम क्वारेन्टाइनको लागि जानकारी गराउने निर्णय र विधिहरु कोरोना नियन्त्रणका लागि अवलम्बन गरिएका छन् । नियमित डिसिसिएमसीको बैठक, स्थानीय तह, वडा र टोलबस्तीस्तरसम्म समन्वय, नियमित मिडिया ब्रिफिङ भईरहेका छन् । हाल चलिरहेको २० बेडको आइसोलेसनलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने छलफल भईरहेको छ ।

म्याग्दीको सदरमुकाम बेनी कोरोना संक्रमणको उच्च जोखिममा परेको छ, नियन्त्रणको तयारी के कस्ता छन् त ?

कोरोना नियन्त्रण अब कुनै निकाय, व्यक्ति वा संयन्त्रको बलमा मात्र सम्भव छैन । यसको बिस्तार र फैलाबट ब्यापक हुदैं गएको छ । अहिले विशेषगरी भिडभाड र जमघट कम गर्न, संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्न सम्बद्ध पक्षहरुसंग आवश्यक समन्वय भई रहेको छ। नागरिक आफै सचेत र सजग नभई कोरोना नियन्त्रण कठिन हुदैं गएको अवस्था विश्वब्यापी अभ्यासहरुबाट पनि देखिएको छ । संक्रमण नियन्त्रणको प्रयासमा प्रत्येक नागरिक जिम्मेवार हुन जरुरी छ ।

बेनीमा एकसातासम्म अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ, यसले संक्रमणबाट समुदायलाई जोगाउन मद्दत गर्छ त ?

विशेषगरी केही दिनयता खुला आवागमन र चाडपर्वका कारण बजार क्षेत्रमा भिडभाडको स्थिति रह्यो । संक्रमित जिल्लाहरुबाट सार्वजनिक सवारी साधनहरुमा खुला आवतजावत भइरहेको छ । लामो र निरन्तरको बन्दले अर्थतन्त्र संकटमा पर्दै गएको अवस्थामा लामो बन्द अब सम्भव पनि छैन । यस परिप्रेक्ष्यमा म्याग्दीको हकमा विशेषगरी नवआगन्तुक व्यक्तिहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै निश्चित समय होम क्वारेन्टाइनमा बसिदिन अनुरोध गरिरहेका छौं । अहिले बेनीमा देखा परेको पछिल्लो संक्रमणको अवस्थाका कारण थप जोखिम नबढोस्, भिडभाड र जमघट न्यूनीकरण होस् र यसका माध्यमबाट संक्रमणको बिस्तार रोक्न सकियोस भन्ने उद्देश्यका साथ उद्योग बाणिज्य संघ तथा बेनी नगरपालिकाको अनुरोधमा एक हप्ताका लागि सेवा बन्दको सूचना जारी भएको हो । तर यो अल्पकालीन विधि मात्र हो । दीर्घकालीन विधि प्रत्येक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नै हो ।

बेनी नगरपालिका बाहेक अन्य स्थानीय तहमा संक्रमणको जोखिमबाट जोगाउन के कस्ता काम भइरहेको छ त ?

म्याग्दीका अन्य स्थानीय तहहरुमा कोभिड नियन्त्रणका लागि स्थानीय तहका प्रमुखहरु सहित बसेको बैठकबाट प्रत्येक स्थानीय तहमा पाँच बेडको कोभिड अस्पताल, १५ बेडको आइसोलेसन निर्माण गर्ने, अक्सीजन सिलिण्डरहरु तयारी हालतमा राख्ने, संक्रमित व्यक्तिलाई आवश्यक परामर्श दिने, बिरामीको अवस्था जटिल भएमा स्वास्थ्य संस्थामा पुर्याउने, प्रत्येक टोलबस्तीमा स्वयंसेवक र निगरानी समूह निर्माण गर्ने, नवआगन्तुक व्यक्तिको होम क्वारेन्टाइन निगरानी र अनुगमन तथा जनचेतनामुलक कार्यक्रम उक्त निगरानी समूहबाट गर्ने र गराउने निर्णय भइसकेको छ । कतिपय स्थानीय तहमा निर्णय कार्यान्वयनको प्रक्रिया पनि सुरु भइसकेको छ ।

सरकारी संयन्त्र मात्रै सक्रिय देखिन्छ, यसरी कोरोना नियन्त्रण सम्भव छ त ?

सरकारी संयन्त्रको सक्रियताले मात्र कोरोना नियन्त्रण कठिन छ भन्ने कुरा विश्वब्यापी अभ्यासहरुबाट देखिईसकेको छ । यो महामारीको अवस्था हो । कुनै एक नागरिक मात्रले आफ्नो लापरवाही प्रस्तुत गरेमा वा एक संक्रमितले हेलचक्रयाई गरेमा स्थिति भयावह बन्दै जाने हो । फेरी प्रत्येक नागरिकको पिछा गर्दै न प्रहरीले निगरानी गर्न सम्भव छ न वडाध्यक्षले । अतः समाजको सबै तह र तप्का इमान्दारीपूर्वक कोभिड नियन्त्रणमा लाग्नु जरुरी छ । जनस्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी छ ।

कोरोना समुदायमा फैलिन नदिन सर्वसाधारणले के कस्तो भूमिका निर्वाह गर्नुपर्छ त ?

कोभिड नियन्त्रणमा सर्वसाधारण नागरिकको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ । सरकारले निर्धारण गरेका नीति नियमहरुको पालना गर्ने, तोकिएका जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्ने, अनिवार्य र उचित तरिकाले माक्स र सेनिटाइजरको प्रयोग गर्ने, भिडभाड जमघट नगर्ने, समाजमा जनचेतना अभियान चलाउने, संक्रमित व्यक्ति र घरपरिवारलाई सहयोग गर्ने र संक्रमितहरुको मनोबल बढाउने, गाँउ टोलबस्तीहरुमा स्वयंसेवक समूह निर्माण गरी कोभिड नियन्त्रण अभियानमा सर्वसाधारण नागरिकले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नु हुन्छ ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना देखिएको छ, संक्रमणको दर बढेमा नियन्त्रणको अन्तिम बिकल्प के हुन सक्छ ?

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको काम स्वास्थ्यकर्मीहरुबाट भईरहेको छ । संक्रमितको सम्पर्कमा आएकाहरुमा कोरोना देखिनु अस्वभाविक होइन त्यसकारण नै मास्क, सेनिटाइजर र सामाजिक दूरी भनिएको हो । माक्स, सेनीटाइजर, सामाजिक दूरी र पटक-पटक साबुनपानीले हात धुने नै नियन्त्रणको अन्तिम बिकल्प हो ।

म्याग्दीमा अझैपनि बाहिरी जिल्लाबाट आउनेहरुले जनस्वास्थ्यको मापदण्ड पुरा गरेको पाइदैन, यसमा थप चुनौती थपिदैनन् त ?

सार्वजनिक यातायातको आवागमन खुला गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएपछि नै सरकारले मापदण्ड पालना गर्ने शर्तमा यातायात क्षेत्र खुला भएको हो । यातायात खुला भएपछि स्वभाविकै रुपमा मानिसहरुको आवागमन बढ्छ नै । मानिसहरुको आवागमन बढ्ने तर जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिले संक्रमण बढ्दै गएको र विभिन्न ठाँउहरुमा बिस्तार भएको स्पष्ट नै छ । यसै कारण बाहिरी जिल्लाबाट आउनेहरुलाई होल्डिङ सेन्टरमा सम्झौता कागज गराएर स्थानीय तहबाट निगरानी गर्ने गरी स्थानीय तह र वडाकै समन्वयमा होम क्वारेन्टाइन बस्ने गरी दैनिक आउने नागरिकहरुलाई परामर्श दिईएको छ । नागरिकबाट धैर्यता र इमान्दारीतापूर्वक यसको पालना नहुने हो भने आगमी दिन थप चुनौतीपूर्ण बन्दै जानेछन् । अतः नागरिक दायित्व र जिम्मेवारी नै अहिलेको  प्रमुख सवाल हो ।

म्याग्दी कोरोना संक्रमण फैलिने जोखिम क्षेत्रहरुको पहिचान भएको छ कि छैन् ?

म्याग्दीमा विशेष गरी ग्रामिण क्षेत्रभन्दा शहरी क्षेत्र, बजार इलाकाहरुमा कोरोना संक्रमण बढि फैलिने सम्भावना देखिन्छ । ग्रामिण क्षेत्रमा नव आगन्तुक व्यक्तिको पहिचान र निगरानी प्रभावकारी छ तर शहरी क्षेत्रमा भिडभाडको कारण प्रभावकारी निगरानी हुन नसक्दा र बढ्दो लापरवाहीका कारण संक्रमण फैलिने जोखिम शहरी क्षेत्रमा बढी छ ।

कोरोना नियन्त्रणको अभियानमा म्याग्देली जनतालाई के अपिल गर्नुहुन्छ त ?

आदरणीय म्याग्दी जिल्लाबासी दाजुभाई, दिदीबहिनीहरु देशमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ । मृत्युको संख्या पनि दैनिक बढिरहेको छ । नागरिकका जिम्मेवारी र कर्तव्यका विषयमा मैले माथि उल्लेख गरिसकेको छु । फेरी पनि मेरो अनुरोध मास्क अनिवार्य प्रयोग गरौं, एकअर्काबीच सामाजिक दुरी, भौतिक दूरी कायम गरौं, गाँउबस्तीमा जनचेतनाको जागरण ल्याऔं । जिम्मेवार नागरिक बनौं । आफू बचौं, अरुलाई बचाऔं । नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार