काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।
अखिल रुसी राजनीतिक दलको आयोजनामा मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस गएका हुन्। उनीसँग प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।
सम्मेलनमा विभिन्न देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुने नेकपाले जनाएको छ। सम्मेलनमा राष्ट्रहरूको स्वतन्त्रता, अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध तथा समसामयिक विश्व राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रचण्डको यो भ्रमण अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा नेपाली कम्युनिस्ट आन्दोलनका विषय तथा नेपालको राजनीतिक दृष्टिकोण प्रस्तुत गर्ने अवसरका रूपमा समेत हेरिएको छ।
मस्कोमा हुने सम्मेलनका क्रममा विभिन्न देशबाट सहभागी राजनीतिक नेता तथा प्रतिनिधिहरूसँग भेटघाट तथा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ। सम्मेलन नोभेम्बर १४ देखि १७ सम्म सञ्चालन हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया