कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी जेलमुक्त

कारागारबाट छुटे टोपबहादुर रायमाझी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी उमेरका आधारमा पाउने कैद छुट सुविधापछि जेलमुक्त भएका छन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। उनी बिहान करिब ७ बजे कारागारबाट बाहिरिएका थिए।

रायमाझीलाई लिन पुगेका लिला केसीका अनुसार बिहान ६ः४५ बजे कारागार पुगेको टोलीले ७ बजे उनलाई लिएर बाहिरिएको थियो। त्यसपछि उनी काठमाडौंको सातदोबाटोस्थित घर पुगेका छन्। केही दिन घरमै आराम गरेपछि गृहजिल्ला अर्घाखाँची जाने तयारी रहेको केसीले बताएका छन्।

रायमाझीको रिहाइ काठमाडौं जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा भएको हो। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएको थियो। सोही आधारमा बिहीबार उनलाई कारागारमुक्त गरिएको हो।

ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट सुविधा माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै अदालतले प्रचलित कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गर्ने निर्णय गरेपछि संशोधित कैदीपुर्जी जारी भएको थियो।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए। काठमाडौं जिल्ला अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

उच्च राजनीतिक तहका व्यक्तिहरू समेत मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी पनि दोषी ठहर भएका थिए। उनको पछिल्लो रिहाइ भने अदालतबाट प्राप्त ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअन्तर्गत भएको हो।

कारागारबाट बाहिरिएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमै टीका र माला लगाएर स्वागत गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो
२०८३ कार्तिक २६, बिहिबार
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण
२०८३ कार्तिक २६, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी जेलमुक्त
२०८३ कार्तिक २६, बिहिबार
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार