काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीअन्तर्गत केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिमा नयाँ जिम्मेवारी तोकेको छ ।
राप्रपा केन्द्रीय कार्यालयका अनुसार प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिको सदस्य सचिवमा जनकराज पाठकलाई मनोनयन गरिएको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्रमार्फत पाठकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको हो । पत्रमा तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै उनलाई बधाई तथा शुभकामना दिइएको छ ।
राप्रपाले केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै प्रचार–प्रसारलगायतका तयारीलाई तीव्रता दिएको जनाएको छ । महाधिवेशन मंसिरको अन्तिम साता आयोजना गर्ने तयारी पार्टीले गरेको छ ।
महाधिवेशनलाई प्रभावकारी बनाउन प्रचार–प्रसार समितिले पार्टीका गतिविधि, महाधिवेशनका कार्यक्रम तथा तयारीसम्बन्धी सूचना व्यवस्थित रूपमा प्रवाह गर्ने अपेक्षा गरिएको छ । समितिको संयोजकमा पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठ रहेकामा सदस्य सचिवको जिम्मेवारी पाठकलाई दिइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया