सर्लाही । नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति तथा मधेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक रूपमा कटाक्ष गरेका छन्।
प्रदेशसभा सदस्य सिंहले संघीय सांसद डा. अमरेश सिंहलाई लक्षित गर्दै भ्रष्टाचार, चरित्र र अभिव्यक्तिसम्बन्धी गम्भीर आरोप लगाएका हुन्। उनले निर्वाचन क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै त्यस्ता प्रतिनिधिसभा सदस्यलाई बहिष्कार गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भ्रष्टाचारी, चरित्रहीन, छिनछिनमा कुरा फेर्ने र सधैँ झुटो बकबक गर्ने प्रतिनिधिसभा सदस्य (माननीय) लाई सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ।’
उनको यो अभिव्यक्ति सर्लाही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहप्रति लक्षित रहेको देखिन्छ। यद्यपि, प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले लगाएका आरोपबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
कांग्रेसका प्रदेश उपसभापति रहेका वीरेन्द्र सिंह र संघीय सांसद डा. अमरेश सिंहबीचको यो सार्वजनिक अभिव्यक्तिले सर्लाहीको राजनीतिक वृत्तमा चासो बढाएको छ।
यस विषयमा प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया