मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली । भारतले १०औँ पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको उपाधि जितेको छ । मंगलबार राती ढाकास्थित नेसनल स्टेडियममा भएको फाइनलमा पाकिस्तानलाई २-१ गोलले पराजित गर्दै भारतले दशौँ उपाधि जितेको हो । भारतले खेलको अन्तिम दुई मिनेट बाँकी छँदा निर्णायक गोल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । पहिलो हाफमा १-० ले पछि परेको भारतले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलको पहिलो हाफमा पाकिस्तानले भारतमाथि दबाब बनाएको थियो । दुवै विंगबाट आक्रमण गरेको पाकिस्तानले १८औँ मिनेटमा गोल गर्ने अवसर पाएको थियो । तर, म्याकेल अब्दुल्लाको प्रहार भारतीय गोलरक्षक अर्श शेखले विफल पारिदिनुभयो । पहिलो हाफको इन्जुरी समयमा पाकिस्तानले अग्रता लियो । जुनैद शाहले दिएको लो क्रसलाई भारतीय रक्षापंक्तिले राम्रोसँग क्लियर गर्न सकेन । त्यसपछि प्राप्त बललाई अलमगीर अली खान घाजीले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै जाली चुमाउनुभयो । पहिलो हाफ सकिँदा पाकिस्तान १-० ले अघि थियो । दोस्रो हाफमा भारतले म्याकार्टन निक्सनलाई मैदान प्रवेश गराउँदै आक्रमणलाई तीव्रता दिएको थियो । उहाँले म्याङ्गलेन्थाङ किपगेनको स्थान लिनुभएको थियो ।

खेलको ५९औँ मिनेटमा पाकिस्तान १० खेलाडीमा सीमित भयो । जुनैद शाहले ब्रिसन फर्नान्डिसको घुँडानजिकै स्टड्सले खतरनाक ट्याकल गरेपछि रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा उहाँलाई सिधै रातो कार्ड देखाएका थिए । एक खेलाडी कम भएपछि भारतले त्यसको फाइदा उठायो । ६०औँ मिनेटमा लुङडिमले दायाँतर्फबाट दिएको क्रस म्याकार्टन निक्सनलाई छोएर सुहैल अहमद भटसम्म पुगेको थियो । भटले कुनै गल्ती नगरी बललाई पोस्टको दिशा दिएपछि भारतले खेल १-१ को बराबरीमा ल्यायो ।

बराबरीपछि भारतले लगातार आक्रमण गरिरह्यो । ६७औँ मिनेटमा निखिल प्रभुको पासमा विष्णुलाई गोल गर्ने राम्रो अवसर मिलेको थियो । तर, उहाँ चिप्लिएपछि उहाँको प्रहार सिधै पाकिस्तानी गोलरक्षकको हातमा पुगेको थियो । खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८८औँ मिनेटमा भारतले निर्णायक गोल गर्‍यो । अब्दुल रबीहले प्रहार गरेको कर्नरमा सन्दीप माण्डीले उत्कृष्ट हेडर गर्नुभयो । उहाँको प्रहार जमिनमा ठोक्किँदै गोल पोस्टभित्र छिरेपछि भारतले २-१ को अग्रता बनायो । बाँकी समयमा पाकिस्तानले बराबरी गोल फर्काउन सकेन ।

जितसँगै भारतले लगातार तेस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसअघि भारतले सन् २०२१ र २०२३ मा पनि उपाधि जितेको थियो । प्रतियोगिताको इतिहासमा लगातार तीन संस्करण उपाधि जित्ने भारत पहिलो टोली बनेको छ । पाकिस्तान भने पहिलोपटक फाइनलमा पुगेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार