नेपाली कांग्रेस आफ्नै पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाको छायाबाट बाहिर निस्किएको छ । कांग्रेस पार्टीलाई चीनको कोमिन्ताङ पार्टीकै इतिहासको पानामा मात्र सीमित हुने तहबाट देउवालाई नै पार्टी सभापति बनाउन मतदान गर्ने महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन नामको वैधानिक विद्रोहबाट बचाएका हुन् ।
भलै, सो पार्टीले यतिवेला नियमित अर्थात् १५ औँ महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ । नयाँ पुस्ता कांग्रेसलाई माया गर्न तयार थियो र छ पनि । तर, देउवा नेतृत्वमै रहेको कांग्रेसलाई भने होइन । किनकि, कांग्रेसकै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई परिवर्तनको बाटोमा लैजान पटकपटक देउवालाई सम्झाउने प्रयत्न नगरेका होइनन् । गगन–विश्व नै थाके तर, देउवा बदलिएनन् ।
हिजो देउवा सिंगै कांग्रेसको सभापति बन्दा पनि कांग्रेस सभापतिको हैसियतले पार्टीमा नयाँ उत्साह भर्न सकेनन् । जसका कारण राष्ट्रिय राजनीतिमा कांग्रेसको अवस्था सधैँ रक्षात्मक मात्र रहन पुग्यो । देउवा नेतृत्वको कांग्रेसको अवस्था त्यतिमा मात्र रोकिएन, हुँदाहुँदा कार्यकर्ता तहमा छाएको निराशाले कांग्रेसप्रति नागरिक तहमै वितृष्णा उत्पन्न हुन पुग्यो ।
सँगै कांग्रेसभित्र पुस्तान्तरणको बहस पछिल्लो एक दशकदेखि हुँदै आए पनि देउवाले त्यसलाई नजरअन्दाज गर्दै आए । यसका अलावा देउवा र उनीपक्षीय एकजना नेता दीपक खड्काको घरमा जेन–जी विद्रोहको समयमा जलेको भनिएको डलरसहित करोडौँ रुपैयाँका विषयले कार्यकर्ताको मनोबल उठ्नै नसक्ने गरी गिर्न पुग्यो । जुन मनोबल उठाउनैका निम्ति पनि विशेष महाधिवेशन, अर्थात् कांग्रेसबाट देउवाको बहिर्गमन अवश्यम्भावी थियो ।
कसैबाट फसाइएका हुन् भने कांग्रेसलाई कमजोर बनाउन प्रयोग भएको चुनदेवी अड्डाबाट निस्केर देउवाले सम्मानजनक बिदाइको बाटो रोज्नेछन् । अन्यथा, नियतवश फसेका हुन् भने अरूलाई फसाउने खेलमा लागेका मान्छेलाई एक दिन नियतिले आफैँलाई फसाउने निश्चित छ ।
देउवापक्ष यतिवेला पार्टीको समानान्तर महाधिवेशनको चर्चा चलाउँदै छ । समानान्तर महाधिवेशनबारे ‘बाँदर राजा’को कथाको सन्दर्भ यहाँ सान्दर्भिक देखिन्छ । कथाका अनुसार, अल्छी सिंह जंगलको राजा भएको मन नपराएको बाघले जंगलका सम्पूर्ण जनावर जम्मा गरी राजा परिवर्तन गर्ने चालबाजी चल्यो ।
जसका निम्ति एकैपटक राजाको पद आफूमा ल्याउन सम्भव नदेखेपछि बाघले जंगलका अन्य जनावरलाई राजा हुन प्रस्ताव राख्यो । सिंह र बाघका सामु राजा हुने सपना देख्दा मारिने डरले कुनै जनावर राजा हुन तयार भएनन् । तर, बाँदर भने आफू मारिने खतरा हुँदा रुख चढ्न सक्ने सपनासहित राजा हुन तयार भयो ।
गड्गडाहट तालीका साथ बाँदर राजा घोषित भयो । एकदिन हरिणको एउटा बच्चालाई राजा पद खोसिएको सिंहले नियन्त्रणमा लियो । हरिणलगायत सम्पूर्ण जनावर उक्त बच्चा नियन्त्रणमुक्तिका निम्ति जंगलका राजा बाँदरकहाँ पुगे ।
बाँदर तत्काल सो सिंह भएको ठाउँ पुगी हरिणको मुक्तिका निम्ति रुखका हाँगाहरू चहार्न थाल्यो । पटकपटक उसले ओल्लो हाँगो र पल्लो हाँगो गर्दै समय व्यतीत ग¥यो । त्यत्तिकैमा हरिणले झर्किँदै बाँदरमाथि आफ्नो बच्चाको मुक्तिको प्रश्न गर्दा बाँदरले जवाफ दियो, ‘देख्नुभएन, म निरन्तर प्रयत्न गरिरहेको छु ।’ आज देउवा समूहको कांग्रेसको महाधिवेशनको चर्चा पनि ठ्याक्कै त्यही बाँदरको कथाजस्तै छ ।
महाधिवेशनको कथित समानान्तर गतिविधि गरिरहेका देउवा यतिवेला ‘पार्टीका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु’ भन्दै छन् । अब आजकै मितिमा देउवाले त्याग गर्ने विषय नै बाँकी छैन । उनले केवल युवापुस्ताका नेता गगन, विश्व र प्रदीपहरूलाई स्वीकार गर्न गाह्रो भयो भन्ने मनोविज्ञान मात्र त्याग गरे पुग्छ ।
सायद देउवालाई त्यो मनोविज्ञान त्याग गर्न दिन भने शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको त कुरै छाडौँ, कान्छाराम तामाङसमेत तयार छैनन् । किनकि हिजो कान्छारामका नेता देउवा थिए । आज परिस्थिति बदलिएको छ । आज देउवा नै कान्छारामहरूको खटनपटनमा परिचालित छन् ।
देउवामाथि यतिवेला पनि प्रश्नैप्रश्न त छँदै छन् । बौद्धिक तह यतिवेला देउवालाई सोधिरहेछ, ‘नियतवश फस्नुभयो कि नियतिले फसायो ?’ किनकि हिजो पनि संसद् विघटन गरी राजालाई ‘कू’ गर्न बाटो खोलेको आरोपबाट देउवा मुक्त थिएनन् ।
अर्कातिर छिमेकी दुई मुलुक भारत र चीनलगायतसँगको सम्बन्ध पनि देउवाले राष्ट्रिय हितमा भन्दा सत्ताप्राप्ति र सत्ता जोगाउनमै प्रयोग गरे । आलोचना सुन्नै नसक्ने र आर्थिक दृष्टिकोणमा समेत देउवा शून्य रहे ।
हुँदाहुँदा पाँचपटक प्रधानमन्त्री बनेर सत्ता त चलाए, तर सत्तालाई देश बनाउने माध्यम हो भन्ने कुरा बुझ्नै सकेनन् । समग्रमा देउवा हिजो पनि प्रयोग भए र आज पनि सिंगो कांग्रेस पार्टीलाई नै कमजोर बनाउन देउवा नियतवश प्रयोग भई नै रहेका छन् ।
देउवाको सन्दर्भमा ‘नियत र नियति’बिच निकै लुकामारी देखिन्छ । उनी आफैँ नियतवश गगन–विश्वलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिन तयार थिएनन् । यहीवेला नियतिले देउवाको साथमा ‘नवयुवराज’हरू प्रकाशमान, शशांक, विमलेन्द्रलाई पुर्याइदियो ।
आफूलाई बेँसी जान मन लागेको, ‘बा’ले घचेडिदिए भनेझैँ गगन–विश्वसहित कांग्रेसलाई कमजोर बनाउने देउवाको चाहनामा कान्छाराम र ‘नवयुवराज’हरूको दागी समूह टुप्लुक्क देउवाकै निवास चुनदेवी पुग्न तयार भयो । र, भन्यो, ‘गगनलाई सभापति मान्ने कुरै छैन ।’ जेन–जी विद्रोहपश्चात् देशको राजनीतिक धरातल बदलिएको ‘नवयुवराज’हरूले भेऊ नै पाएनन् ।
एकातिर पक्राउ पुर्जी र अर्कातिर रेड कार्पेटको स्थितिको मूल्यांकन नै नगरी कांग्रेस कमजोर बनाउन केही स्वार्थी समूहले देउवालाई यतिवेला देश दौडाहामा लगि नै रहेको छ ।
हुन त नियतवश आफैँ पनि फस्ने व्यक्ति नै हुन्, देउवा । किनकि, सत्ताका लागि कहिले वामपन्थीसँग आलोपालोको सम्झौता त कहिले सांसद खरिदबिक्रीसमेत गर्नु उनका लागि सामान्य विषय हो ।
रमाइलो त के छ भने, हिजो पार्टी र राज्यसत्ताका लागि फरक धारका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र आफैँबाट भड्किएका विमलेन्द्र निधिलगायतलाई आफ्नो पक्षमा जम्मा पार्न सफल देउवा आज उनको गुटमा ‘उनीसँग कोको छन् ?’ भन्ने प्रश्नको सामना गर्दै छन् ।
झनै रमाइलो तथ्य र नियत वा नियतिकै खेल भन्नुपर्छ, फेक महाधिवेशनको कार्यक्रम अगाडि बढाइरहेको देउवा समूहका नेता, जो दुईपटक कांग्रेसको सभापति र पाँचपटक मुलुकको प्रधानमन्त्री भए, उनै ८० नाघेका देउवा पदका लागि डडेलधुराको गन्यापधुराबाट क्षेत्रीय प्रतिनिधि चयन भएको खबर बाहिर आयो । यो नै देउवालाई नियत वा नियतिले पतनको बाटोमा लगेको प्रमाण हो ।
गुटबन्दी, सम्झौतापरस्त, आलोपालोका पर्याय र कुर्सीको राजनीतिका प्रतीक मानिने देउवा अब केवल व्यक्ति मात्र नभई विकृत राजनीतिका पर्यायसमेत बनेका छन् । तथापि, जीवनको उत्तराद्र्धमा समेत कांग्रेससँगै लोकतन्त्र पनि कमजोर बनाउने खेलमा नियतिले उनलाई डोहोर्याइरहेकै छ ।
हुन त आजको घटनाक्रम भनेको देउवा वा उनका समकालीन राजनीतिक पात्रहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतको पतन मात्र नभई उनीहरूको युगको अन्त्यको संकेत पनि हो । तर, जाँदाजाँदै भने आफू चढेकै जहाज चढ्न उद्यत कांग्रेस, एमाले, नेकपालगायतका ‘नवयुवराज’हरूलाई समेत देउवाहरूले सँगै लिएर जाने निश्चितझैँ देखिन्छ ।
हुन त, नजाउन् पनि किन, ‘नवयुवराज’हरूको योग्यता पनि हिजो उनैले अरूलाई कानुन, प्रहरीको घेरा र अख्तियार लगाएर घेरामा पारेरै राजनीति गर्ने प्रणाली विकसित गरेका थिए । आज उनीहरूलाई त्यही प्रणालीले मज्जाले घेर्दै छ । किनकि, सर्वोच्च अदालतले गत जेठमा रेडकर्नर नोटिस जारी गर्दा प्रक्रिया नमिलेको मात्रै बताएको हो ।
जीवनको उत्तराद्र्धमा रहेका देउवालाई कानुनी झमेलाबाटै उन्मुक्ति दिनु भनेको पक्कै होइन । तसर्थ, नियत भनौँ वा नियतिले राजनीतिबाटै बिदा लिन लागेको समय देउवालाई इतिहासले कठघरामा नउभ्याउला भन्न सकिने आधार छैन ।
नियत वा नियति जेले फस्ने/फसाउने काम गरे पनि एउटा कुरा निश्चित हो, निश्चित व्यक्तिको पूर्वाग्रही लहडमा लागेर देउवा फसेकै हुन् । पार्टीका वरिष्ठ नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले कांग्रेस मुख्यालय, सानेपामा वरिष्ठ नेताको हैसियतमा जाने तयारी गरिसके । तर, देउवाका वैशाखीका रूपमा रहेका दागी तथा विभिन्न अड्डा, अदालत तथा संवैधानिक निकायमा केस रहेकाहरूबाट देउवा समूहका लागि राजनीतिको लामो यात्रा कत्तिको सहज होला ? यो विषय देउवा समूहमा रहेर राजनीति गर्छु भन्नेहरूले समेत सोच्नुपर्ने विषय हो ।
समग्रमा देउवा नियतवश फसेका हुन् भने भन्नु केही छैन । यदि फसाइएका हुन् भने कांग्रेसलाई कमजोर बनाउन प्रयोग भएको चुनदेवी अड्डाबाट बिच्किएर उनले सम्मानजनक बिदाइको बाटो रोज्नेछन् ।
अन्यथा, नियतवश फसेका हुन् भने अरूलाई फसाउने खेलमा लागेका मान्छेलाई एकदिन नियतिले आफैँलाई फसाउने छ । जतिवेला देउवा स्वयं फस्नेछन्, त्यतिवेला उनका लागि एकथान वक्तव्य पनि एमाले अध्यक्ष ओली (उनको पार्टी ओलीसँगै रहिरहे) बाट मात्रै जारी हुनेछ ।
देउवा आज त्यही मोडमा छन् । उनले बुझ्नैपर्ने विषय भनेको राजनीतिमा नियतले बनाएको बाटो सधैँ नियतकै नियन्त्रणमा रहन्छ भन्ने छैन । एकदिन त्यो नियतले बनाएको बाटोमा आफैँलाई लगेर छाड्छ, जसरी आज देउवालाई नियतले त्यही बाटोमा लगेर छाड्यो । यो नै हो, देउवाहरूको युगको पतनको संकेत । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया