काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्दैछ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए।
महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्वासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।
बैठकको कार्यसूचीमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन्।
त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ। बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ।
मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया