मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

नागरिकका सरोकारमा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्छ : सभापति थापा

सुकुम्बासीदेखि स्वास्थ्य बिमासम्म सरकारमाथि गगन थापाको प्रश्न, कमजोरीमा खबरदारी गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको बताएका छन्। केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका विषयमा प्रश्न उठाउने पार्टीको नीति रहेको बताए।

उनले सुकुम्बासी समस्याको समाधानमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए। संसद्बाट पारित भएर राष्ट्रिय सभामा अड्किएको कानुनलाई समयमै अघि बढाइएको भए अहिले कानुनी आधारमा सुकुम्बासी समस्या समाधान गर्ने प्रक्रिया धेरै अगाडि बढिसक्ने उनको दाबी छ।

थापाले अहिले सुकुम्बासी समस्या कुन अवस्थामा पुगेको छ भन्ने विषयमा समेत स्पष्टता नरहेको बताए। वीरगञ्जका बासिन्दाहरूले आफूहरूसँग भेटेर समस्या सुनाएको उल्लेख गर्दै उनले राज्यले संविधान, नियम र अदालतका आदेशसमेत पालना नगरी व्यवहार गर्दा वास्तविक सुकुम्बासीसँगै घरबार भएका नागरिकसमेत सुकुम्बासी बन्नुपर्ने अवस्था सिर्जना भएको बताए। उनले यस्ता विषयमा नेपाली कांग्रेस मौन बस्न नसक्ने उल्लेख गरे।

त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको विषयवस्तु प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे पनि त्यसपछि सरकारले गरेका पहल र उपलब्धिबारे प्रश्न उठाए। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप)मा प्रधानमन्त्रीले हिमालसम्बन्धी पहलसहित विभिन्न प्रस्ताव अघि सारे पनि त्यसको कार्यान्वयन र उपलब्धिबारे सरकारले स्पष्ट पार्नुपर्ने उनले बताए।

उनले हिमालसम्बन्धी पहल भारत र चीनसँगको छलफलमा अघि बढेको छ कि छैन तथा त्यसका लागि आवश्यक संरचना निर्माण भएको छ कि छैन भन्ने प्रश्न गरे। जलवायु न्यायका सन्दर्भमा नेपालले के उपलब्धि हासिल ग¥यो भन्ने विषयमा पनि सरकारले जवाफ दिनुपर्ने उनले बताए।

थापाले स्वास्थ्य बिमा कार्यक्रमसमेत अस्तव्यस्त बनेको आरोप लगाए। लामो प्रयासपछि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा हजारौँ नागरिकले बिमा छाडिरहेको उल्लेख गर्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

अध्यादेशको विषयमा बोल्दै सभापति थापाले अप्ठ्यारो परिस्थितिमा अध्यादेश ल्याउनु अस्वाभाविक नभए पनि त्यसलाई नियमित अभ्यासजस्तो बनाउन नहुने बताए। विगतमा कांग्रेस नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई अध्यादेशलाई सामान्य राजनीतिक औजारका रूपमा प्रयोग नगर्न सचेत गराएको बताए।

उनले सरकारले अध्यादेश ल्याएर राष्ट्रपतिसमक्ष पठाउने तर त्यसको प्रक्रिया र उद्देश्य स्पष्ट नहुने अवस्था देखिएको टिप्पणी गरे। पछिल्लो पटक पठाइएको अध्यादेशबारे सञ्चारमाध्यमले पूर्ण विषयवस्तु नबुझी समाचार प्रकाशन गरेको भन्दै उनले त्यसको आधा विषय मात्रै बाहिर आएको दाबी गरे।

उनले सरकारका सकारात्मक कामको प्रशंसा गर्नुका साथै कमजोरीका विषयमा प्रश्न उठाउनु पनि प्रमुख प्रतिपक्षी दलको दायित्व भएको स्पष्ट गरे। उनले नागरिकका सरोकारका विषयमा कांग्रेस निरन्तर खबरदारीमा रहने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकका सरोकारमा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्छ : सभापति थापा
२०८३ मंग्सिर ८, मंगलबार
‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’ – मुख्यमन्त्री भट्ट
२०८३ मंग्सिर ८, मंगलबार
एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ गतेसम्म समय
२०८३ मंग्सिर ८, मंगलबार
‘आज रेलगाडी मात्र होइन, दुई देशको आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत हो’ : मन्त्री यादव
२०८३ मंग्सिर ८, मंगलबार
स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने प्रचण्डको दाबी
२०८३ मंग्सिर ८, मंगलबार
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
२०८३ मंग्सिर ८, मंगलबार
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम
२०८३ मंग्सिर ८, मंगलबार