काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फाराम भर्न राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले थप १५ दिनको समय दिएको छ।
कार्यालयले मंगलबार दोस्रोपटक सूचना जारी गर्दै कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि आवेदन फाराम भर्ने समय थप गरेको हो। यसअघि कात्तिक ९ गते जारी सूचनामार्फत तोकिएको समयसीमा मंगलबार समाप्त हुँदै थियो।
दसैँ, तिहार र छठलगायतका पर्वका कारण लामो समय विद्यालय बन्द हुँदा आवेदन फाराम भर्ने प्रक्रिया प्रभावित भएको तथा विभिन्न विद्यालयबाट म्याद थप गर्न माग आएपछि समय बढाइएको कार्यालयले जनाएको छ।
नयाँ समयतालिकाअनुसार एसईई आवेदनसँग सम्बन्धित फाराम भर्ने, राजस्व बुझाउनेलगायतका सम्पूर्ण प्रक्रिया मंसिर २५ गतेसम्म पूरा गर्न सकिनेछ।
परीक्षा नियन्त्रण कार्यालयले तोकिएको थप समयभित्रै आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित विद्यालय तथा परीक्षार्थीलाई आग्रह गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया