काठमाडौं : ‘संख्या पुगेन हजुर, संख्या…!’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको यो अभिव्यक्ति अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा चर्चित थियो । अघिल्लो प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद थिए । संसद्मा रास्वपा सांसद्को संख्या कम हुँदा विधेयक र नीतिगत विषयमा आफ्नो नीति लागू गराउन नसकिएको र कानुन निर्माण प्रक्रियामा प्रभाव पार्न कठिन भएको सन्दर्भमा ढकालले यस्तो अभिव्यक्ति दिएका थिए ।
२१ फागुन २०८२ को निर्वाचनपछि परिस्थिति बदलियो । मतदाताले रास्वपालाई प्रतिनिधिसभामा दुई सिट कम दुईतिहाइ बहुमत दिए । सरकार बनाउन १३८ सिट भए पुग्छ । तर करिब दुईतिहाइ पुग्ने मत दिएर जनताले सांसद ढकालले खोजेजस्तै संख्या पुर्याएर चाहेको नीति बनाउने शक्ति दिए ।
तर कानुन निर्माणमा कार्यकारीले देखाउने प्रवृत्ति भने बदलिएन । १३ चैतमा प्रधानमन्त्री भएलगत्तै वालेन्द्र शाह बालेनले १०० बुँदे कार्यसूची ल्याए । त्यसलाई कार्यान्वयन गर्ने भनेर गत वैशाखमा आठ अध्यादेश जारी गरे ।
वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । वैशाख १७ देखि २२ सम्म राष्ट्रपतिबाट ती आठवटै अध्यादेश जारी भए । जसमा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्वविद्यालय, संवैधानिक परिषद् र केही नेपाल ऐन संशोधनसम्बन्धी थिए । तीमध्ये चारवटा कानुनमा रूपान्तरित भए ।
सहकारी संशोधन, सार्वजनिक खरिद संशोधन, सम्पत्ति शुद्धीकरण संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशका प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भए । बाँकी चार अध्यादेश निष्क्रिय भए ।
संवैधानिक समयसीमाभित्र दुवै सदनबाट स्वीकृत हुन नसक्दा निष्क्रिय भएका हुन् । निष्क्रिय हुनेमा संवैधानिक परिषद् संशोधन, केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालयसम्बन्धी अध्यादेश थिए ।
संघीय संसद्को बजेट अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो । त्यसपछि पनि सरकारले फेरि अध्यादेशको बाटो अपनायो । अधिवेशन अन्त्य भएयता सरकारले थप अध्यादेश सिफारिस गरिसकेको छ । तीमध्ये राष्ट्रपतिले पाँच जारी गरिसकेका छन् भने तीन अध्ययनकै क्रममा छन् ।
सरकारले सिफारिस गरेका र जारी भएका पाँच अध्यादेशमा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐन संशोधन, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश छ ।
यसका साथै, राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीनवटा पुगिसकेको छ । जसमा प्रेस काउन्सिल नेपाल ऐन २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठनसम्बन्धी अध्यादेश छन् ।
सरकार अझै थप अध्यादेशमा काम गरिरहेको छ । अझै केही नेपाल ऐन संशोधन अध्यादेश ल्याउने र त्यसमार्फत एकै पटक ६० भन्दा बढी ऐन संशोधन गर्ने सरकारको तयारी छ ।
सरकारले संघीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश ल्याउन सक्छ । संविधानको धारा ११४ अनुसार राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन् । अध्यादेश जारी भएपछि संसद्का दुवै सदनमा पेस गर्नुपर्ने र ६० दिनभित्र स्वीकृत नभए निष्क्रिय हुने व्यवस्था छ ।
अध्यादेशको संवैधानिक वैधता र संसद् अधिवेशन नभएको अवस्थाको औचित्य आफ्नो ठाउँमा छ । तर संसद्मा १८२ सदस्यको बलियो उपस्थिति भएको सरकारको विधायिकी प्राथमिकता संसद् हो कि अध्यादेश भन्ने प्रश्न उठ्ने गरी सरकार अध्यादेशको बाटोमा हिँडिरहेको छ ।
सरकारको यस्तो शैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट छ ।
कांग्रेस सभापति गगनकुमार थापा अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिप्रति कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिन्छन् । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भने, ‘वर्तमान सरकारले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति देखाएको छ । हामी यसको विरोधमा छौं, कांग्रेस चुप लागेर बस्दैन’ उनले भनेका छन्, ‘आफ्नो अनुकूल अध्यादेश ल्याउने र काम पूरा भएपछि प्रतिस्थापन विधेयक नल्याई अध्यादेश निष्क्रिय बनाउने प्रवृत्ति स्थापित गर्न खोजिएको छ । यसको प्रतिवाद गर्छौं ।’
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन सरकारलाई लोकतन्त्र र प्रणाली ख्याल गर्न सुझाउँछन् । ‘सधैं कोही मान्छे जित्दैन, सधैं कोही सत्तामा हुँदैन । सधैं कोही प्रतिपक्षमा पनि हुँदैन,’ रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पुनले भने, ‘आज को पर्यो, भोलि को पर्छ र पर्सि को आउँछ भन्दा पनि लोकतन्त्र र प्रणाली जोगिनुपर्छ ।’
उनका अनुसार राज्यका निकायले तोकिएका जिम्मेवारी पूरा गर्नुपर्नेछ । अगाडि भन्छन्, ‘संसद्ले कानुन बनाउने, सरकारले कार्यान्वयन गर्ने र न्यायालयले कानुनको व्याख्या गर्दै नागरिकको अधिकार संरक्षण गर्ने नियन्त्रण र सन्तुलनको व्यवस्था नै लोकतन्त्रको आधार हो ।’मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया