मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

‘देउवालाई सर्वोच्च नेता मान्न तयार छौँ, तर गगनलाई सभापतिबाट हटाउन सकिँदैन’: काँग्रेस महामन्त्री, प्रदीप पौडेल (अन्तवार्ता)

‘गगन थापालाई सभापति नमान्ने भए देउवा दाइले अर्को पार्टी खोले हुन्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

निर्वाचन आयोगले तपाईंहरूलाई मान्यता दिएको छ। पार्टीबाट अलग रहनुभएका साथीहरूलाई कसरी समेट्नुहुन्छ?

पार्टीको समस्या र प्रकृति कस्तो हो भन्ने सबैले बुझ्नुभएको छ। उहाँहरूले अदालतमा मुद्दा हाल्नुभएको हिसाबले हामीले जुनसुकै विषयमा समेट्न लबिङ गरे पनि उहाँहरू तयार हुनुहुन्न। विशेषगरी आदरणीय शेरबहादुर देउवा दाइले मुद्दा हाल्नुभएको छ। उहाँको विषय टुङ्गिनेबित्तिकै अरू दाइहरूको विषय पनि टुंगिन्छ।

मुद्दा जितिन्छ भन्ने आश उहाँहरूलाई भएकाले बस्नुभएको हो। हामी त शेरबहादुर दाइलाई सर्वोच्च नेता अथवा अरू के-के नेता मान्नुपर्ने हो, सबै मान्न तयार छौँ। सभापति सबैभन्दा माथि हुने कुरा स्वाभाविक हो। त्योभन्दा तल हामी जुनसुकै वरियता दिन तयार छौँ। सभापतिभन्दा तल हामी सबैभन्दा माथि कति जना बस्नुपर्छ, त्यो पनि दिन तयार छौँ। यो कुरा हामीले उहाँहरूलाई पहिले पनि भनेका हौँ र अहिले पनि तयार छौँ।

तपाईंहरू भेट्न पनि जानु हुन्न रे ! अनि उहाँहरूले भेटै दिनुहुन्न भन्नुहुन्छ। अब पार्टी फुट्छ?

हामीले पन्ध्रौँ महाधिवेशनमा उहाँहरूलाई प्रमुख अतिथि भनेर बोलाएकै हो। पटक-पटक वार्ताका लागि जाँदा उहाँहरूले ढोका नै खोल्नुभएन। शेरबहादुर दाइलाई भेट्न पूरै प्रयास गर्दा पनि रोकिनुपर्ने अवस्थामा पुग्यौँ। भेट्न पाए त जाने थियौँ। तर पाइएन। ढोका बन्द भएपछि जान सक्ने कुरा भएन। गगन थापालाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिँदैन। बाँकी सबै कुरा गर्न तयार छौँ।

निर्वाचन आयोगले पनि तपाईंहरू नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। उता रहेका साथीहरूलाई के भन्नुहुन्छ?

यो ढङ्गले लागेर कांग्रेस र लोकतन्त्र नै कमजोर बनाउने काम गर्नुहुँदैन। उहाँहरूलाई सत्ताले उकास्यो होला, अरूले केही गरे होलान्। तर त्यो क्षणिक कुरा हो। कांग्रेस बलियो हुँदा शेरबहादुर दाइलाई पनि लाभ हुन्छ। त्यसैले कांग्रेस कमजोर बनाउने अभियानमा नलाग्न म उहाँहरूलाई अनुरोध गर्छु।

देउवा पक्षले पनि कांग्रेसकै नाममा १५औँ महाधिवेशन गर्न लाग्नुभएको छ। यसबारे तपाईंहरूको केही रोक्ने तयारी छ?

तपाईंहरू काठमाण्डुपाटी भन्ने अनलाइन चलाउँदै हुनुहुन्छ। यही नाममा अर्कोले पनि अनलाइन दर्ता गरेर म पनि काम गर्छु भन्दै अगाडि बढ्न पाउँछ? आधिकारिक निर्णय जसको पक्षमा छ, आधिकारिक दर्ता जसको नाममा छ, त्योबाहेक अरूले पाउँदैनन् नि। कांग्रेस दुई-तीनवटा बनाएजस्तै काठमाण्डुपाटी पनि बनाउन मिल्छ र ? निर्वाचन आयोगमा नेपाली कांग्रेस पार्टी दुईवटा दर्ता गर्न पाइन्छ ?

हामी तपाईंहरूसँग पनि के अनुरोध गर्न चाहन्छौँ भने मिडिया र समाजले कस्तो भूमिका खेल्ने हो, अब कांग्रेसको नाममा उहाँहरूले गतिविधि गर्न पाउने कि नपाउने भन्ने कुरा तपाईंहरूले पनि बुझ्ने विषय हो। नेपालमा दलसम्बन्धी र संस्थासम्बन्धी कानुन छ। यो कुरा अहिले कांग्रेसलाई मात्रै परेको होला, तर यही समस्या भोलि अरू संस्था र पार्टीमा पनि आउन सक्छ।

अहिले संसद् पुनर्स्थापना गर्नुपर्छ भनेर २०७९ को निर्वाचनको आधिकारिकता अदालतमा मागिएको छ। यो कुनै पनि हालतमा सम्भव छ र? हामीले त फागुन २१ को निर्वाचन बेहोरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार अगाडि बढेको छ। हामी अरू दलहरूले पनि आफ्नो पोजिसन ल्याएका छौँ।

२०७९ मा बनेको संसद् अहिले पनि जीवित हुनुपर्छ, त्यसले मान्यता पाउनुपर्छ भन्नु र शेरबहादुर दाइहरूले महाधिवेशन गरेर कांग्रेस मेरै हो भन्नु एउटै कुरा हो। यो कुनै पनि हालतमा सम्भव देखिँदैन।

यो महाधिवेशन रोक्नका लागि तपाईंहरू केही गर्दै हुनुहुन्छ भन्ने मेरो प्रश्न हो।

कांग्रेस पार्टीसँग सेना छैन, प्रहरी छैन। हामी अरूजस्तो अराजक गतिविधितिर जाँदैनौँ। तर कानुनी लडाइँमा उत्रिन तयार छौँ।

राज्यले नै दुईवटा कांग्रेस बनाउन खोजेको छ। तपाईंहरूले देखिरहनुभएको छ। यो विषय समाजले कस्तो परम्पराको विकास गर्ने र अरू मान्छेले कसरी अपनत्व लिने भन्नेमा पनि भर पर्छ। एउटै नाममा दुईवटा गतिविधि गर्दा हामी सबै चुप लागेर बस्ने अवस्था हुँदैन। उहाँहरू हामीसँग रहन चाहनुहुन्न भने आफ्नै ढङ्गले तयारी गर्नुपर्छ।

त्यसो भए तपाईंहरूले कांग्रेसका नाममा गतिविधि नगर, अर्को पार्टी खोल भन्न खोज्नुभएको हो?

नेपालमा कानुन छ कि छैन? उहाँहरू जानुभयो, ठीक छ। तर अदालत र आयोगले नै नमानेपछि उहाँहरूले आफ्नै ढङ्गले अगाडि बढ्न सक्नुपर्‍यो नि।

उहाँहरूको पक्षमा अदालतले फैसला गरिदियो भने त्यो मान्नैपर्छ। तर अहिले जुन ढङ्गले निर्णय भएको छ, त्यसलाई सबैले मान्नुपर्छ। अदालतमा मुद्दा विचाराधीन छ, तर राज्यका सबै निकायले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएका छन्।

अदालतबाट निर्णय नआएसम्म पूर्वसभापति देउवा पनि मान्नुपर्छ र अरू दाइहरूले पनि मान्नुपर्छ। नत्र त भाँडभैलो हुन्छ नि। अहिले कांग्रेसलाई मात्रै परेको छ, मान्छेहरूले खिसीट्युरी गरेका होलान्। यही कुरा भोलि अरू संस्था र कांग्रेसबाहेकका अरू आबद्ध संस्थामा पर्‍यो भने के हुन्छ?

त्यसकारण उहाँहरू हामीसँग बस्नै नसक्ने हो भने आफ्नै ढङ्गले पार्टी निर्माण गर्न सक्नुपर्छ। नत्र पार्टीलाई कमजोर बनाउन विभिन्न नाममा गतिविधि गर्नुहुँदैन। उहाँहरूलाई आँट आउँछ भने छुट्टै पार्टी खडा गरेर गतिविधि गर्नुस्। तर कांग्रेसलाई कमजोर बनाउन र कांग्रेसीहरूलाई दुःख दिने यस्ता गतिविधि रोकिदिनुहोस्। गगन थापालाई सभापति नमान्ने भए उहाँहरूले अर्को पार्टी खोले हुन्छ।

फरक विषयमा कुरा गरौँ। चीन भ्रमणका क्रममा देउवा कांग्रेसले मान्यता पाउनुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको अडियो कुराकानी सुनियो। यसले तपाईंहरूलाई असर पारेको छ?

यो राजनीति खासै नबुझ्ने मान्छेहरूले बोलेको कुरा हो। यसका विषयमा टीकाटिप्पणी गरेर चिन्ता लिएर बस्नुपर्ने अवस्था छैन। उहाँहरूको स्तरले त्यही भ्यायो र त्यही कुरा गर्नुभयो। यसले राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतन्त्र र डेमोक्रेसीलाई कसरी लिँदो रहेछ भन्ने विषय देखाउँछ।

यस्तो कुरामा म केही टिप्पणी गर्न चाहन्नँ। राज्य नै कांग्रेस फुटाउन लागेको कुरा त त्यो मात्रै होइन, अरू थुप्रै कुराले देखाउँछन्। काठमाण्डूपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
२०८३ मंग्सिर १०, बिहिबार
‘देउवालाई सर्वोच्च नेता मान्न तयार छौँ, तर गगनलाई सभापतिबाट हटाउन सकिँदैन’: काँग्रेस महामन्त्री, प्रदीप पौडेल (अन्तवार्ता)
२०८३ मंग्सिर १०, बिहिबार
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
२०८३ मंग्सिर १०, बिहिबार
रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस
२०८३ मंग्सिर १०, बिहिबार
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी
२०८३ मंग्सिर १०, बिहिबार
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त
२०८३ मंग्सिर १०, बिहिबार
प्रदेश अस्पताल गोरखामा आईसीयू सञ्चालनमा
२०८३ मंग्सिर १०, बिहिबार