असार २३, २०८२ सोमबार July 7, 2025

भारतीय सेनाध्यक्षको भ्रमण: सम्बन्ध सुधारमा ग्रिन सिग्नल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आएका नरवणेको राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूसँगको भेटपछि सीमा विवादको विषयले बिग्रिएको दुई देशको सम्बन्धमा उपाधि ग्रहण परम्पराको निरन्तरतासँगै सुधारको संकेत देखिएको हो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गरेका नरवणेले राष्ट्रपति भण्डारीसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसैगरी, शुक्रबार उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको स्पष्ट पारेका छन् । उनले सोही सम्बन्धका कारण नै दुई देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको पनि स्मरण गरेका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच देखिएको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारका पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पहिले खासै चासो नहुने यस्ता भ्रमण सीमाका विषयमा नरवणेले दिएको अभिव्यक्तिकै कारण चर्चामा आएको र नेपाली सेनाका प्रधानसेनापतिले सो समयमा जवाफी प्रतिक्रिया नदिँदा यो भ्रमण हुन सकेको बताए ।

नरवणेको भ्रमण दुई देशबीच बिग्रिएको सम्बन्ध सुधारमा ‘आइसब्रेक’ भएको समेत प्रधानले स्पष्ट पारे । ‘नरवणेले सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिए तर हाम्रा सेना प्रमुखले बुद्धिमताको प्रयोग गरे । त्यसकारण यो भ्रमण सम्भव भयो, यो भ्रमण सीमा विवादपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारमा आइसब्रेक हो,’ पूर्वरक्षामन्त्री प्रधानले राजधानीसँग भने ।

भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल सहभागी थिए भने नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।

भारतले सीमा विवादका सम्बन्धमा कूटनीतिक वार्ताका लागि चासो नदेखाए पनि केही साताकै अन्तरालमा रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले समेत दुई देशको सम्बन्ध सुधारमा ग्रिन सिग्नल दिएको हो ।

कतिपयले दुई देशबीच राजनीतिक र कूटनीतिक सम्बन्ध चिसिएको बखत सैन्य कूटनीतिको सहारामार्फत सम्बन्ध सुधारको पहल थालिएको समेत भन्दै आएका छन् ।

राष्ट्रपति भण्डारीले नरवणेलाई बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् ।

विगत सात दशकदेखि दुई देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेकामा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । यो उपाधि पहिलो पटक सन् १९५० मा तत्कालीन भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पालाई प्रदान गरिएको थियो ।

भारतीय सेनाध्यक्ष नरवणे शुक्रबार तीन दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार