असार २३, २०८२ सोमबार July 7, 2025

सिंहदरबारको सुरक्षामा नयाँ योजना : गाडी स्क्यानरदेखि इ-पाससम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको सुरक्षा व्यवस्था कमजोर भएको निष्कर्षसहित गृह मन्त्रालयले नयाँ योजना अगाडि बढाएको छ । मन्त्रालयका उपसचिव प्रेमलाल लामिछाने नेतृत्वको कार्यदलले एक महिनाअघि सिंहदरबारको सुरक्षा सुधारसम्बन्धी प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा सुधारका काम सुरु भएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

प्रतिवेदनमा विभिन्न सुरक्षा कमजोरी औँल्याइएको छ । दक्षिण गेटमा गाडी र ब्यागेज स्क्यानर तथा सेन्सर लाइट जडान गर्नुपर्ने सुझाइएको छ । सिंहदरबारभित्र सर्वसाधारणको आउजाउ दक्षिण गेटबाटै हुन्छ । अहिले गेटमा सामान्य जाँच मात्र हुने भएकाले भिआइपीहरूलाई सुरक्षा चुनौती हुन सक्ने प्रतिवेदनमा औँल्याइएको छ । चारपांग्रे सवारीसाधनमा सिंहदरबार छिर्नेहरूलाई त सामान्य जाँच पनि हुँदैन ।

यस्तै, सिंहदरबार प्रवेश गर्ने पासको दुरुपयोग रोक्न इ–पास जारी गर्ने गृह मन्त्रालयको तयारी छ । अहिले जोसुकैको सिफारिसमा पास उपलब्ध हुने भएकाले नियन्त्रणको आवश्यकता प्रतिवेदनले औँल्याएको छ । सिंहदरबार गेट र भित्र थप सिसिक्यामेरा जडान पनि अगाडि बढाइएको छ ।

सिंहदरबारभित्र जथाभावी तस्बिर खिच्न पनि रोक लगाउनुपर्ने प्रतिवदेनमा सुझाइएको छ । संवेदनशील क्षेत्रको तस्बिरबाट पनि सुरक्षा जोखिम हुन सक्ने बताउँदै प्रधानमन्त्री कार्यालयलगायत क्षेत्रमा जथाभावी तस्बिर खिच्न रोक्नुपर्ने सुझाब दिइएको छ ।

स्रोतका अनुसार सिंहदरबारभित्र क्यान्टिन चलाउनेहरूबाट पनि सुरक्षा चुनौती औँल्याइएको छ । एउटा सामान्य कार्डको भरमा क्यान्टिन सञ्चालक र तिनका कर्मचारी जुनसुकै वेला सिंहदरबार प्रवेश गर्न पाउँछन् । कतिपय त सिंहदरबारभित्रै बस्छन् । ‘कुनै आपराधिक समूहले उनीहरूमार्फत गलत काम गराउन सक्ने जोखिम हुन्छ,’ अध्ययन समितिका एक सदस्यले भने, ‘सुधार गर्नुपर्ने पक्ष धेरै देखियो ।’

सिंहदरबारवरिपरि भवन बनाउन छुट्टै मादपण्ड बनाउनुपर्ने प्रतिवेदनमा सुझाइएको छ । त्यसबारे काठमाडौं महानगरपालिकासँग समन्वय गरिने गृह प्रवक्ता बुढाले बताए । गत वर्ष पनि गृहले सुरक्षा सुदृढ बनाउन टेन्डरसमेत गरेको थियो, तर पछि रद्द भयो । यस वर्ष समितिको प्रतिवेदनअनुसार विभिन्न सामान र प्रविधि खरिदका लागि अर्थ मन्त्रालयसँग समन्वय अगाडि बढाएको छ ।

दैनिक १० हजारको प्रवेश

सिंहदरबारमा औसतमा दैनिक १० हजारजना प्रवेश गर्छन् । तीमध्ये करिब आधा कर्मचारी नै हुन्छन् । स्वास्थ्य तथा जनसंख्याबाहेक सबै मन्त्रालय सिंहदरबारभित्र छन् । संसद् सचिवालय, नेपाल टेलिभिजन, रेडियो नेपाल, मुद्रण विभाग, पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागलगायत कार्यालय सिंहदरबारभित्रै छन् । विभिन्न पार्टीका कार्यकर्ता प्रायः पासकै आधारमा सिंहदरबार छिर्छन् । कतिपय विनाकाम पनि प्रवेश गर्ने भएकाले त्यस्ता आगन्तुकलाई नियन्त्रण गर्न प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

अग्ला भवन अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मै रोकियो

सिंहदरबार र राष्ट्रपति कार्यालयको अघिल्तिर बनेका अग्ला भवन अधिग्रहण गर्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा रोकिएको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा सिंहदरबारको पश्चिम गेटअगाडि बनेको इमिरो प्लाजा र राष्ट्रपति भवनअगाडि सिई रियल स्टेटले बनाएको अपार्टमेन्ट अधिग्रहण गर्न मन्त्रालयले सिफारिस गरेको थियो ।

ती भवनबाट सुरक्षा जोखिम हुने भएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकुमार आचार्य नेतृत्वमा समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले एक वर्षअघि नै अधिग्रहण गरेर सरकारी कार्यालय राख्नुपर्ने प्रस्ताव गरेको थियो । हाल कतिपय सरकारी कार्यालय निर्माणकै क्रममा रहेको र त्यसमा अर्बौँ खर्च हुने भएकाले त्यो बजेटबाट ती भवन खरिद गर्नुपर्ने औँल्याइएको थियो ।

सिंहदरबारअगाडि व्यवसायी विशाल पण्डितले १० तले भवन बनाएर होटेल सञ्चालन गरेका छन्, जसले राष्ट्रिय अनुसन्धान विभाग र सिंहदरबारका अन्य कार्यालयलाई पनि सुरक्षा जोखिम बढेको छ । अनुसन्धान विभागले त दुई वर्षअघि नै गृह मन्त्रालयलाई पत्राचार गरी होटेल निर्माण रोक्न आग्रह गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार