असार २२, २०८२ आइतबार July 6, 2025

यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ : कमल थापा (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यतिवेला सडकमा राजसंस्थाका पक्षमा किन प्रदर्शन भइरहेको छ ? समयका हिसाबले यसको सन्देश के हो ? 

अहिले नेपाली जनतामा रहेको असन्तुष्टिको स्वाभाविक अभिव्यक्तिका रूपमा यसलाई लिनुपर्छ । १० वर्षको हिंसात्मक विद्रोह र ०६२÷६३ को परिवर्तनपछि जनताले आमरूपमा परिवर्तनको जुन अपेक्षा गरेका थिए, त्यसको अनुभूति १४ वर्षयता जनतालाई भएन । पछिल्लो परिवर्तनपछि नयाँ नेपाल बनाउने, जनताको समृद्धि कायम गर्ने, जनतालाई दासताबाट मुक्ति दिलाउने परिवर्तनकारी पक्षले भनेका थिए, तर परिस्थिति ठीक त्यसको विपरीत छ । जनतामा परिवर्तनको अनुभूति भएको छैन । बरु, यसबीचमा भ्रष्टाचार, आन्तरिक मामिलामा बाह्य चलखेल, धर्मपरिवर्तन, कुशासन बढेको छ । वास्तवमा देश अहिले संकटमा छ । तत्कालीन विद्रोही र आन्दोलनकारी पक्ष भ्रष्टाचारमा संलग्न छन् भन्ने तथ्यहरूले बताइरहेका छन्, हामीले भनिरहनुपर्दैन । यी सबै विसंगतिमा परिवर्तनकारी पक्षधर नेताको गैरजिम्मेवारी त छँदै छ, आमरूपमा अहिले यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ ।

सडक प्रदर्शन तपाईंहरूको योजनाअनुसार संगठित रूपमा भइरहेको हो कि नेतृत्व गर्ने अरू पक्ष छन् ? 

अहिले सडकमा भइरहेको प्रदर्शन वा असन्तुष्टि जे भन्नुस् यो स्वतस्फुर्त रूपमा आएको जमात हो । यो एकीकृत वा केन्द्रीकृत रूपमा भएको होइन । विभिन्न नागरिक समितिहरू गठन भएर कार्यक्रम भइरहेको छ । स्थानीय रूपमा स्वतस्फुर्त रूपमा जनताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । राप्रपा संस्थागत रूपमा यसमा संलग्न छैन । तर, हाम्रा कार्यकर्ता सडकमा छन् । हामीले उनीहरूलाई रोकेका छैनौँ, बरु जाऊ भनेर प्रोत्साहित नै गरिरहेका छौँ । राप्रपाको स्थायी नीति के छ भने हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जोकोहीले गर्ने आन्दोलन वा कार्यक्रममा हाम्रो नैतिक समर्थन स्वतः रहन्छ । अहिले भइरहेका कार्यक्रमलाई राप्रपाको नैतिक समर्थन र ऐक्यबद्धता छ । अहिले भइरहेको प्रदर्शनले जनमत सिर्जना गर्न खोजिरहेको छ । अहिलेसम्म सहमतिका आधारमा, संवैधानिक परिधिबाट सुधारको चाहना मुखरित भएको छ । हामीले भन्दै आएका छौँ कि निरन्तरतासहितको परिवर्तन हुनुपर्छ । कसैलाई निषेध गर्ने होइन, सबै अटाउने परिवर्तन चाहिन्छ । तर, हाम्रो आवाजलाई सुनिएन । ०६३ पछिको राजनीतिक मार्गचित्र नै त्रुटिपूर्ण छ भनेर हामीले भन्दै आएका छौँ । अहिले आमरूपमा असन्तुष्टिले यो पुष्टि भएको छ । देश यो संकटतर्फ जान्छ र यो परिस्थिति आउँछ भन्नेमा हामी स्पष्ट थियौँ । त्यसकारण अब देशलाई संकटबाट मुक्त गर्न, एउटा मात्र विषयमा होइन, समग्रमा नै समाधानको उपायसहित संघर्षमा हामी पनि जाँदै छौँ । हामी संघर्षको तयारीमा छौँ । पछिल्लो परिवर्तनको १४ वर्षको अभ्यासले स्पष्ट देखाइसकेको छ कि अब व्यक्ति वा पार्टी परिवर्तनले मात्रै जनताको मुद्दा सम्बोधन हुँदैन । व्यापक सुधारमा जानुपर्छ । ०६३ पछिको त्रुटिपूर्ण राजनीतिक मार्गचित्रलाई त्यागेर नीतिगत र व्यवस्थागत परिवर्तनतर्फ अघि बढ्नुपर्छ ।

राजा आऊ, देश बचाऊ भन्ने नारासहित भइरहेका प्रदर्शन संविधानविपरीत होइन र ? कुनै पनि प्रदर्शन संविधानअनुसार हुनुपर्छ नि, होइन र ? 

जनआवाजलाई षड्यन्त्र भन्नु आधारहीन हो । सडक प्रदर्शन लुकाएर भएको छ र ? जनता नै सडकमा आएका छन् । यो संविधानविरोधी प्रदर्शन पनि होइन । हामीले विगतमा संविधानसभामा नै हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा आवाज उठायौँ । र, ०७२ मा जारी भएको संविधानमा जनअभिमतबाट व्यवस्थासमेत परिवर्तन गर्न सक्ने अधिकार सुनिश्चित छ । मुलुकको स्वतन्त्रता, राष्ट्रिय एकता र सार्वभौमसत्ताबाहेक सबै विषय परिवर्तन गर्ने आधार संविधानमा सुनिश्चित गरिएको छ । त्यसकारण गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता अपरिवर्तनीय विषय होइनन् । जनअभिमतबाट यो परिवर्तन हुन नसक्ने भन्ने हुँदैन । तर, जनअभिमतलाई जालझेलबाट दबाउन खोजियो भने सडकबाट परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । मेरो आग्रह छ, जनतालाई रोक्ने होइन, जनताको आवाज सम्बोधन गरौँ । किनभने युवाहरू स्वतः सडकमा आएका छन् । उनीहरूको जायज आवाजलाई सकारात्मक रूपमा लिइएन भने सबै पक्ष एकैसाथ सडकमा उत्रिनुपर्ने अवस्था आउन सक्छ । पछिल्ला परिवर्तनका संवाहकहरूले राम्रो काम गरिदिएको भए यो अवस्था आउने थिएन । तर, म यो पनि स्पष्ट गर्न चाहन्छु कि अहिले भएका प्रदर्शन कुनै नेता वा व्यक्तिलक्षित छैनन् ।

अहिलेको सडक प्रदर्शन कहाँसम्म पुग्ला ? 

यो झनै बढ्दै जाने सम्भावना देख्छु । बुटबल, कोहलपुर हुँदै अहिले हरेक दिनजस्तो कार्यक्रम भइरहेको छ । मैले भनेँ, यो आवाजलाई ठीक ढंगले सम्बोधन भएन भने यो अभियान केन्द्रीकृत र एकीकृत रूपमा अघि बढ्छ । राप्रपा पनि यसमा सामेल हुन्छ । म यो पनि स्पष्ट भन्न चाहन्छु कि हामीले विगतको व्यवस्था पुनस्र्थापित गर्न खोजेको होइनौँ । प्रतिगमन अब सम्भव छैन र आवश्यक पनि छैन । परम्परागत शक्ति र परिवर्तनकारी शक्तिबीच सामञ्जस्य खोजौँ भनेका छौँ । यो पनि स्पष्ट गर्न चाहन्छु कि ०६३ पूर्वको राजसंस्था पुनस्र्थापित हुन सक्दैन । किनभने यहाँ गणतन्त्र पक्षधर जनमत पनि ठूलो छ । उनीहरूलाई पनि चित्त बुझ्ने गरी लोकतन्त्रको परिधिमा रहने राजसंस्थाको परिकल्पना हामीले गरेका छौँ । हामीले राजतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको परिकल्पना गरेका छैनौँ । धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र भनेका छौँ । संघीयताका पक्षमा छैनौँ, तर त्यसका कतिपय राम्रा पक्षलाई विकेन्द्रीकरणका सन्दर्भमा उपयोग गरौँ भनेका छौँ । प्रदेश आवश्यक छैन भन्ने त प्रमाणित नै भइसकेको छ ।

प्रदर्शनमा निर्मलनिवास अर्थात् पूर्वराजाको भूमिका कस्तो पाउनुभएको छ ? 

यसमा निर्मलनिवास वा पूर्वराजाको भूमिका छ जस्तो मलाई लाग्दैन । बरु निर्मलनिवासबाट कहिलेकाहीँ हामीले राजनीतिक संरक्षण कतैबाट पनि पाएनौँ भन्ने गुनासो सुन्ने गरेका छौँ । यो अभियानमा ८० प्रतिशत राप्रपाका कार्यकर्ता वा हामीलाई विश्वास गर्नेहरू छन् । मानिसहरू स्वतस्फुर्त रूपमा निस्केका छन् । जिल्ला–जिल्लाबाट हामीलाई के गरौँ भनेर फोन गर्ने कार्यकर्तालाई प्रदर्शनमा भाग लिनुस् भनेका छौँ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार