असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदैः निर्वाचन तयारीमा सुरक्षा निकाय, सेना भन्छ-तयार छौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।

निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।

नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाकासहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।

यसैगरी सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसहित सवारी तथा सञ्चार साधन र अन्य आवश्यक लजिस्टिक सामानसमेत समेटेर खाका तयार गर्दै छ ।

‘नेपाल प्रहरीका तर्फबाट १२ अर्ब बराबरको खर्चको खाका आएको छ, सशस्त्रबाट आइसकेको छैन । सबै सुरक्षा निकायबाट आएपछि आवश्यक छलफल अघि बढ्छ,’ गृह स्रोतले राजधानीसँग भन्यो ।

नेपाल प्रहरीले भने २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आँकडाका आधारमा खर्चको अनुमानित विवरण गृह मन्त्रालयमा पठाएको हो । प्रहरीले म्यादी प्रहरी भर्ना गर्दा लाग्ने खर्चलाई समेत अनुमानित खर्च विवरणमा पेस गरेको छ । आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

जसअनुसार १ लाख म्यादी प्रहरी भर्नाका लागि ५ अर्ब खर्च लाग्ने अनुमान छ । यस्तै साधारण खर्चतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च लाग्ने गरी खर्च माग गरिएको प्रहरी स्रोत बताउँछ । साधारणतर्फको खर्च तलब तथा भत्तालगायतमा खर्च हुनेछ भने पुँजीगततर्फ सवारीसाधन, सञ्चार साधनलगायतमा खर्च हुनेछ ।

नेपाल प्रहरीले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ भने सशस्त्र प्रहरीले डीआईजी गणेश ठाडा मगरको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले केन्द्रदेखि प्रदेशसम्म नै निर्वाचनको तयारी अघि बढाउने गरी सशस्त्र प्रहरीले निर्वाचन तयारी समिति बनाएको जानकारी दिए । उनका अनुसार प्रदेश तहमा भने त्यहाँ नेतृत्वमा रहेका डीआईजीले नै निर्वाचन शेल गठन गर्नेछन् ।

नेपाली सेनाले भने गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको समेत प्रतिनिधित्व रहेको र सरकारले दिएको जिम्मेवारी पालनामा प्रतिबद्ध रहेको जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेलले सेना निर्वाचनका लागि आन्तरिक गृह कार्यमा लागेको र सरकारले दिएको जिम्मेवारीे पूरा गर्ने बताए । ‘गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको प्रतिनिधित्व भइसकेको छ, सेना निर्वाचनको आन्तरिक तयारीमा छ । दायित्व के के आउँछ ? त्यहीअनुसार सेना तयार रहन्छ,’ सैनिक प्रवक्ता पौडेलले भने । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया