काठमाण्डौंः राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० गोलले पराजित गरेको छ । एपीएफ लगातार तेस्रो खेलमा विजयी भएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजको खेलमा एपीएफका लागि अञ्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गर्नुभयो । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको २७औँ मिनेटमा एपीएफका लागि योन्जनले पहिलो गोल गर्नुभएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा लिम्बुले एपीएफका लागि दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाउनुभयो । खेलको ‘प्लेयर अफ दि म्याच’ एपीएफकै अनिता केसी घोषित हुनुभयो ।
एपीएफले हालसम्म तीन खेलमा ९ अङ्क जोडेको छ । एपीएफ तालीकाको शीर्ष स्थानमा छ । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलले तथा दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलले पराजित गरेको थियो । आर्मी तीन खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा छ ।
आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ७-० गोलले पराजित गरेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया