मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

तीन साता भित्र माग पुरा नभए २० औं सत्याग्रह सुरू गर्ने डा. केसीको घोषणा (विज्ञप्ती) सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले आगामी फाल्गुन १२ देखि २० औं सत्याग्रह सुरू गर्ने घोषणा गरेका छन् ।  बरिष्ट हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीले एक प्रेस विज्ञप्ती जारी गर्दै फाल्गुन १२ देखि अनसन बस्ने घोषणा गरेका हुन् ।

मंगलबार जारी विज्ञप्ति अनुसार आगामी तीन सातामा माग पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनेर उनले दुई बुँदे मुख्य माग अघि सारेका छन्।

प्रेस विज्ञप्ति

देश अहिले गम्भीर राजनैतिक संकटमा छ । तर त्योभन्दा ठूलो संवैधानिक संकट अहिले हाम्रासामू छ । झण्डै आठ दशकसम्म नागरिकहरुले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा छ । संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संस्थाले उसको स्वार्थअनुसार काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास अहिले भइरहेको छ ।

अहिलेको नेपालमा हामी नागरिक सार्वभौम हौं । त्यसैले हामीसँग बोल्न, लेख्न पाउने र सम्मानजक जीविका आर्जन गर्ने अधिकार मात्रै हैन लोकतान्त्रिक अधिकार र स्वतन्त्रताहरुको रक्षा गर्ने जिम्मेवारी पनि छ । यस अगाडि राज्यका जुनसुकै र जतिसुकै शक्तिशाली व्यक्तिहरुले हाम्रो स्वतन्त्रता र अधिकारहरु हनन गर्न खोज्दा नागरिकहरुले तिनलाई परास्त गरेको इतिहास छ ।

हामी एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत छौं । हाम्रा कति मागहरु अहिलेसम्म पूरा भएका छैनन् र हामीसित भएका धेरै सम्झौता कार्यान्वयनमा गएका छैनन् । चिकित्सा शिक्षा ऐन जारी भएर चिकित्सा शिक्षा आयोग बने पनि ऐनमा सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । चिकित्सा शिक्षा नियमावली बनाउँदा विसं. २०८५ देखि मेडिकल शिक्षालाई गैर–नाफामूलक बनाउने भन्ने ऐनका प्रावधानहरु समेटिएका छैनन् । ऐन अनुसार सार्वजनिक संस्थाका रुपमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कुम्स र नेपाली सेनाको मेडिकल कलेजले अझै त्यति छात्रवृत्ति दिएका छैनन् । यी सबै एजेण्डाका लागि हामी निरन्तर लडिरहनेमा कसैले शंका नगरे हुन्छ ।

तर अहिले देशमा जुन संवैधानिक संकट छ, जसरी एक व्यक्तिले सिंगो राज्य संयन्त्र कब्जा गर्ने कुटिल प्रपञ्च चलिरहेको छ, यो पूर्ण रुपमा सफल भयो भने भविष्यमा हामीलाई सुधार र सुशासनका लागि लड्ने धरातल नै बाँकी रहने छैन । केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।

त्यसैले हामीलाई के लाग्छ भने नागरिकका हैसियतले हामीले शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही हो । यो मौका हामीले गुमायौं र देशमा अधिनायकवाद संस्थागत भयो भने हाम्रा सन्ततिले हामीलाई कहिल्यै माफी गर्ने छैनन् । अर्कोतिर हामी नागरिकले हाम्रो नैतिक बलमा टेकेर अहिंसात्मक संघर्ष ग¥यौं भने हाम्रा लोकतान्त्रिक अधिकारहरु हरण गर्ने सबै प्रपञ्चहरु असफल हुनेछन् । देशमा फेरि अर्को हिंसात्मक संघर्षको औचित्य नै रहने छैन । न्यायालयको स्वतन्त्रता र न्यायिक सुशासनका लागि हाम्रो सचेत प्रयास उत्तिकै आवश्यक छ । हाल संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई हामी सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेका छौं । देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्नेछ भन्ने सबै नागरिकको अपेक्षा छ । बाँकी संवैधानिक निकायहरुको कार्य सम्पादनमा पनि हाम्रो त्यस्तै चासो र निगरानी छ । अख्तियार लगायतका संवैधानिक निकायहरुलाई निष्पक्ष रुपमा सबै भ्रष्ट व्यक्तिहरुमाथि आवश्यक छानविन र कारवाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं ।

यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।

२०औं सत्याग्रहका मागहरु

१) प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् ।

२) विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् ।

डा. गोविन्द केसी
२०७७ माघ २०

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार