काठमाण्डौंः सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समुहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।
बुधबार बिहान ८ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको पहिलो चरणको वार्ता १०ः४५ बजे सकिएको हो । वार्ता सकारात्मक रुपमा अगाड बढिरहेको बालुवाटार स्रोतको दाबी छ । पुनः दोस्रो चरणको वार्ता गर्नेगरी दुवै पक्ष बालुवाटारबाट बाहिरिएका छन् ।
सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले आजको वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताएका छन् । ‘वार्ता सकारात्मक दिशाउन्मुख छ’, उनले भने ।
आजको वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई थिए भने प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउने सहभागी रहेका थिए ।
औपचारिक वार्ता शुरु हुनु अगावै गृहमन्त्री राम बहादुर थापा बादल बुधबार बिहान ७ बजे नै प्रधानमन्त्री निवाश बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष विप्लवको मागका सम्बन्धमा अनौपचारिक छलफल गरेको स्रोतको दाबी छ ।
आजको वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्नुपर्ने मुख्य माग अघि सारेको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया