काठमाण्डौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन् । कास्कीको पोखरामा भएको दुईदिने गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समापनमा बोल्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्।
गृह मन्त्रालय र गण्डकीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको गोष्ठीमा मन्त्री थापाले विप्लव नेतृत्वको नेकपालाई ईङ्गित गर्दै ‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र हुँदैन, राजनीतिक रूपमा हल गर्नुपर्छ।’
संविधान मान्ने दलहरूबाट पनि शान्ति सुरक्षामा खतरा आउन सक्ने उनको भनाइ छ । उनले त्यस्तो दलको नाम भने नलिएको अर्का सहभागीले बताए। देश राजनीतिक अस्थिरतातर्फ धकेलिएको भन्दै मन्त्री थापाले यसले विकास निर्माणमा असर पुर्याएको बताए ।
‘सरकारको नेतृत्व गरेकै पार्टीमा पनि पूर्ण एकता छैन’, गृहमन्त्रीको भनाइ उदृत गर्दै एक सहभागीले भने, ‘सरकारलाई गिराउने खेल खेलिरहेको छ, संविधान मान्ने दलहरूमा संघर्ष पैदा भएको छ।’
राजनीतिक कोणबाट आउन सक्ने असुरक्षालाई ध्यान दिएर सुरक्षा नीति बनाउन उनले निर्देशन दिए । जातीय र धार्मिक कोणबाट पनि असुरक्षाको स्थिति आउन सक्ने भन्दै उनले सुरक्षा नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका थिए।
गृहमन्त्री थापाले विप्लव समूहको गतिविधि निगरानीमा राख्नुपर्ने बताएका छन्। ‘विप्लव समूहसँग हतियार हुन सक्छ, राज्यलाई बुझाएका छैनन्’, उनले भने, ‘उक्त समूहलाई निगरानीमा राख्नुपर्छ।’
गोष्ठीमा बोल्दै गण्डकीका आन्तरिक मामिला तथा कानुनमन्त्री बस्नेतले सुरक्षा निकायका लागि आवश्यक बसोबास, सवारी साधन लगायत आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेका थिए।
गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखले सुरक्षा चुनौतीका बारेमा रिपोर्टिङ गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया