काठमाडौं : स्वास्थ्य मन्त्रालयले काठमाण्डौं राजधानी उपत्यकासहित देशका ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मंगलबार पत्रकारसँग कुरा गर्दै संक्रमणको जोखिम बढ्दै गएपछि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको बताएका हुन् ।
‘पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ’, मन्त्री त्रिपाठीले भने, ‘विद्यालय उमेरका बालबालिकामासमेत संक्रमण धेरै देखिन थालेको छ । त्यसको रोकथाम तथा नियन्त्रणका निम्ति यस्तो प्रस्ताव अगाडि बढाइएको हो ।’
मन्त्रालयले तत्कालका लागि अनलाइन माध्यमबाट पठनपाठनको व्यवस्था गर्नेगरी विद्यालय बन्द गर्न सिफारिस गरेको हो । पछिल्लो समय विद्यार्थी र शिक्षकामा संक्रमण बढी देखिएको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो । जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र विद्यालयका गतिविधि सञ्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गर्दै आएको छ ।
निजी विद्यालय सञ्चालकले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्छु भनेर जोखिम मोलेको भन्दै सरकारले ठूला र संक्रमण बढ्दै गएका सहरमा विद्यालय एक महिना बन्द गर्ने तयारी गरेको हो । बालबालिकामा संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै विद्यालय सञ्चालन गर्नु गलत भएको विश्लेषण मन्त्रालयले गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया