काठमाण्डौंः नेपाल आयल निगम आजदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन) देखि पूर्ण रूपमा कार्यान्वयन गर्ने तयारी निगम जुटेकाे छ ।
२५ करोड रुपैयाँ लागतमा तयार भएकाे ईआरपी प्रणालीबाट अनुगमन र नियमनलाई प्रभावकारी बनाउने याेजना निगमकाे छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गर्ने भएको हो । याे स्वचालित प्रणालीबाट निगमका सम्पूर्ण कार्यहरूलाई विद्युतीय प्रणालीमा लगिने उनले बताए ।
ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजाने छ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछ ।
सफ्टवेयरबाटै ट्याङ्करको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याकङ्रलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने प्रवक्ता उपाध्यायको दाबी छ ।
सुरक्षा र निगरानी बढाए पनि पेट्रोलियम पदार्थको चोरी, नोक्सानी र मिसावटको चुनौतीबाट मुक्त हुन नसकेपछि निगमले ईआरपी प्रणाली लागू गर्न लागेको हो । ढुवानी गरेको ट्याङ्कर अपहरण हुनेदेखि एकल ताला तोड्ने काम व्यवसायीबाट भएपछि निगमले बलियो सुरक्षाका रूपमा ईआरपी प्रणाली अपनाउन थालेको हो ।
निगमका अनुसार ईआरपी प्रणालीले दैनिक कामलाई व्यवस्थित गर्नेछ । वित्तीय सुशासन प्रभावकारी हुनुका साथै छिटोछरितो र प्रभावकारी सेवा प्रवाह हुनेछ । प्रवक्ता उपाध्यायको भनाइ छ, ‘निगमको सबै गतिविधिलाई डिजिटलाइज गर्ने हो, वैज्ञानिक तरिकारले चेकजाँच र अनुगमन हुनेछ, प्रविधिमैत्री भएर प्रभावकारी सेवा दिने हो, समग्रमा पेपरलेस बनाउने हो ।’
ईआरपी जडानले निगमको खर्च घट्नुका साथै आम्दानीमा वृद्धि हुने दाबी गरिएको छ । अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुनेछ । अनलाइनमा काम हुनेभएपछि जनशक्तिको आवश्यकता कम हुनेछ ।
ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउने छन् । एकै स्थानबाट निगरानी र निर्देशन हुनेछ । प्रशासनभित्रको बेथिति र ढिलासुस्तीको अन्त्य हुने निगमको दाबी छ ।
पेट्रोल पम्प तथा विक्रेताले अनलाइनबाट माग र भुक्तानी गर्ने छन् । निगमका दैनिक कारोबार तथा तथ्याङ्कहरू अनलाइन प्रणालीमा हुनेछ ।
अर्काेतर्फ ईआरपी प्रणालीमा जानुुभन्दा पहिला बिक्रेता नियमावली संशोधन गर्नुपर्ने व्यवसायीहरूको माग छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, ‘ईआरपी कार्यान्वयनमा हामीले सैद्धान्तिक रूपले नमानेको होइन । बिक्रेता नियमावली संशोधन गर्नुपर्नेछ, त्यसमा निगम सकारात्मक भइसकेको छ, तर यो प्रविधि भएकाले प्रशिक्षण जरुरी हुन्छ, उद्घाटन गर्न हतार गर्नुभएन ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया