जेठ २३, २०८३ शनिबार June 6, 2026

गायक-सर्जक प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सार्वजनिक भएको २४ घण्टामा गायक-सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा ६ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।

सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । “नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ”, सपुतले भन्नुभयो, “हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।”

राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ । ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ ।

आफ्नो समूहको प्रस्तुति दिन मञ्चस्थ हुनुभएका सपुत भन्नुहुन्छ, “हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट, हामी सबै जनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्यसभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिछट्टै माया लाग्छ, नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरु खोजेर मैले बनाएको हो यो समूह ।”

सपुतले आफँै रचेको गीतमा सङ्गीत पनि उहाँले नै दिनुभएको छ । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उहाँलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् । “तत्काललाई प्रतिक्रिया राम्रै आएको छ, गीतमाथि विवेचना हुँदै जाला”, सपुतले भन्नुभयो, “गीत हाम्रै सामाजिक मनोदशाको एउटा चित्रण हो ।”

उहाँले देशका विभिन्न ठाउँमा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई धिक्कार्ने, बरु ठूलो÷विकसित देशमा जन्मन पाएको भए पनि हुनेजस्ता गुनासो र कुण्ठामिश्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाउनुभयो । अहिले पनि समाजमा दुःख, असमानता र विभेद कायमै रहेकाले त्यसको अन्त्य हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार