काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आउँदो सातादेखि प्रशारण हुने भएको छ। दुई सातादेखि रोकिएको शोका आउँदा एपिसोडहरु प्रशारण हुने भएका हुन्।
२ साता अगाडि कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी गराएको थियो।
आउँदो हप्ताको शुक्रवारदेखि ‘द भ्वाइस अफ नेपाल ३’का नयाँ एपिसोडहरु प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
‘आउँदो हप्ताको लागि एपिसोडहरु हामीसँग छ। त्यसपछिको हप्ता अन्य एपिसोडहरु सुटिङ गरेर रेगुलर जाने सोच बनाएका छौँ। सबै अवस्था ठिक भएमा शो निरन्तर प्रशारण हुने छ,’ उनले भने।
शोका १८ एपिसोडहरु प्रसारण हुनुका साथै ‘ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड’ सकिएको छ। आगामी सातादेखि ‘नकआउट राउन्ड’ का एपिसोडहरु प्रशारण हुने छन्।
कोभिड-१९ जोखिमलाई मध्यनजर गर्दै बीचमा सुटिङ रोकिएको निर्देशक पौडेलले बताए। सुटिङ सकिएपछि मात्रै निर्णायक प्रमोद खरेललाई कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
‘द भ्वाइस अफ नेपाल ३’ हरेक शुक्रवार र शनिवार राति ८ बजेबाट हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया