असार २३, २०८२ सोमबार July 7, 2025

‘संख्या बढेपछि संविधान संशोधनबाट हामी यो मुद्दा सम्बोधन गर्छौं ।’ – राजेन्द्र महतो (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाललाई बहुल राष्ट्र राज्य’ बनाउनुपर्छ भन्ने तपाईंको भनाइको अर्थ के हो ?

पृथ्वीनारायण शाहले नेपाल एकीकरणकै बखतमा चार जात छत्तिस वर्णको फूलबारी भनेका होइनन् ? हो, बहुल राष्ट्र भनेको पनि त्यही हो । अहिले बहुल जातीयमा आधारित राज्य भएकै छैन । बहुसंख्यक बाहुल्यताका आधारमा शासन गर्ने राज्य प्रणाली बनेकै छैन । यो विविधता भएको देश हो । संविधानमा सबैको हिस्सेदारी होस्, सबै जातजाति वर्गले आफू शासित मात्रै होइन, शासक पनि हो भन्ने महसुस गर्न पाओस् ।

बहुल राष्ट्र भनेर देश टुक्र्याउने कुरा गरिरहनुभएको त होइन ?

यो कम्युनिस्ट र कांग्रेसका नेताहरूले जानीजानी उठाएको विषय हो । केपी ओलीको विरोध गर्नका लागि उठाइएको हो । मैले उठाएको विषय मूल्य–मान्यता र बहुमतमा आधारित शासन प्रणालीको कुरा हो । यो देश कुनै एउटा जातिविशेषको होइन । आदिवासी जनजाति, बाहुन, क्षत्री, मधेसी, थारू, दलित सबैको हो । संविधानले बहुलतालाई स्वीकार गरेको छ । हाम्रो राष्ट्रिय गानमा पनि त्यही कुरा लेखिएको छ । एक लाइनमा भन्दा हाम्रो राष्ट्रिय गान पनि बहुल राष्ट्रवादमा आधारित छ । तर, त्यसको मान्यताअनुसार शासन गरिएको छैन । जबसम्म शासनमा त्यस्तो व्यवस्था हुन्न, अधिकार पहिचानका लागि जनता मरिरहन्छ, लडिरहन्छ । आवाज उठिरहन्छ । त्यही कुरा मैले गरेको हो ।

एकपटक असान्दर्भिक भइसकेका कुरा ल्याएर कसरी पूरा गर्न सक्नुहुन्छ ?

शोषण, उत्पीडनमा परेका जनतालाई संगठित बनाउने, हिमाल, पहाड, तराई–मधेसका जनतालाई जगाउने र यो देश सबैको हो भन्ने भावना जागृत गराउने हो । हामीले बाहुन, क्षत्री, जनजाति, मुस्लिम, दलित, मधेसी, थारूलगायत सबै जातजातिलाई व्यावहारिक र संवैधानिक रूपमा पहिचान दिन खोजेका हौं । अहिले संख्या कम भयो । संगठित हुँदै जनमत बढाउँदै जाने हो । संख्या बढेपछि संविधान संशोधनबाट हामी यो मुद्दा सम्बोधन गर्छौं । त्यसका लागि जनमत बनाउन त संघर्ष गर्नैपर्छ । त्यसै जनता सडकमा आउँदैनन् । अस्ति संसद्मा प्रचण्डले यो संविधान सबै ठीकठाक भयो भने । सबै ठीकठाक भएको भए अहिले किन बोलिरहेका छन् त ? संविधानमा धेरै त्रुटि छन् । त्यसको संशोधन हुनुपर्छ भन्ने त अहिले सबैलाई भइरहेको छ ।

जातीय आधारमा प्रदेश बनाउन आन्दोलन गर्ने भन्न खोज्नुभएको हो ?

जातीय राज्य भन्ने होइन । पहिचानका आधारमा राज्य हुनुपर्छ भन्ने मेरो भनाइको अर्थ हो । थारू, मधेसी, खसको पहिचान भएन भने उनीहरूले शासन गर्न पाउँदैनन् । अहिले खस आर्यले पनि छुट्टै पहिचान चाहिरहेको छ । खस आर्यले पनि संविधानमा पहिचान पाइएन भनिरहेको छ । खसको जति जनसंख्या हो, उसको भाग अर्कोले खाइरहेको छ भन्ने परेको छ । यो त पहिचानसँग जोडिएको अधिकारको लडाइँ हो । संघीयता आफ्नो शासनका लागि मागिएको हो । जुन भूगोलमा जुन जातिको बाहुल्य छ, उसको शासन हुनुपर्छ भन्ने मान्यता हो । त्यसका लागि संघीयता चाहिएको हो । एकात्मक शासनका विरुद्धमा संघीयता मानेको हो । जस्तो-स्विट्जरल्यान्डमा सानो–सानो समिति बनाएको छ, हाम्रो पनि त्यस्तै चिन्तन र सोच हुनुपर्छ । बहुलतालाई जोगाएर राष्ट्र निर्माण गर्नु नै बहुल राष्ट्रको अवधारणा हो ।

तत्कालीन राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसार ११ राज्य बनाउनुपर्छ भन्ने एजेन्डा अघि बढाउन थाल्नुभएको हो ?

हो, त्यो ‘टेन प्लस वन’ मा आधारित राज्य पुनःसंरचनाको प्रस्ताव थियो । त्यसमा केही न केही पहिचान झल्किन्छ । पहिचानसहितको संघीयता भन्नुस् वा बहुल राष्ट्रको अवधारणा भन्नुस्, त्यही हो । हामीले भनेको पनि त्यही हो । त्यसविपरीत कांग्रेस, एमाले र माओवादीले गोली चलाएर संविधानमा सातवटा प्र्रदेश राखे । अहिले सब ठीकठाक भन्ने सोच नश्लवादी सोच हो । नश्लवादी सोच बोकेका वामदेवजस्ता नेतालाई यस्ता कुरा पच्दैन । बहुलतालाई स्वीकार गर्न नसक्ने र औपनिवेश सोचबाट शासन चलाउन खोज्नेहरूले मात्रै मेरो अभिव्यक्तिको विरोध गरेका छन् ।- कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार